काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नभइ ऊर्जामन्त्री दीपक खड्का र ऊर्जासचिव सुरेश अचार्यले हटाएको बताएका छन् ।
कांग्रेससँगको गठबन्धन सरकार भएको तथा ऊर्जा मन्त्रालयको नेतृत्व कांग्रेसले गरिरहेको परिस्थितिमा प्रधानमन्त्री ओलीले चाहेर मात्रै आफूलाई हटाउन सक्ने स्थिति नभएको भन्दै उनले ऊर्जामन्त्री दीपक खड्का र सचिव सुरेश आचार्यका कारण आफूलाई बर्खास्त गरिएको उनको भनाइ छ ।
‘सबै कुरा ऊर्जा मन्त्रालयको नेतृत्वका कारणले गर्दा सुरूदेखि यो विवाद आएको हो । म प्रधानमन्त्री (केपी शर्मा ओली) लाई पनि दोष दिन्नँ, अरुलाई पनि पार्टीलाई पनि दोष दिन्नँ, कसैलाई पनि दोष दिन्नँ,’ एक टेलिभिजन अन्तर्वार्ताका क्रममा उनले भने, ‘ऊर्जा मन्त्रालयको नेतृत्व (मन्त्री दीपक खड्का र सचिव सुरेश आचार्य) चाहिँ जसरी भए पनि मलाई हटाउनुपर्छ भन्ने लाइनमा थियो ।’
आफूलाई हटाउने सम्पूर्ण कामको अगुवाई ऊर्जामन्त्री र कांग्रेसका केही नेताले गरेको चर्चा गर्दै उनले अगाडि भने, ‘जुन क्याविनेटले मलाई बर्खास्त गर्यो त्यसको नेतृत्व केपी ओलीले गरिरहनुभएको छ । तर, कुरा के हो भने उहाँले चाहेर मात्रै यो (मलाई हटाउने) हुँदैनथ्यो । कांग्रेसको ऊर्जामन्त्री हो, त्यहाँबाट सहमतिबिना त उहाँ (उर्जामन्त्री)ले पनि गर्न सक्ने स्थितिमा थिएन र प्रधानमन्त्रीले चाहेर मात्रै पनि हुने अवस्था थिएन ।’
उनले ऊर्जा मन्त्रालयको नेतृत्व यही ढङ्गले अघि बढ्ने र धेरै समय रहने हो भने नेपालको ऊर्जा क्षेत्र कोल्याप्स हुनेसमेत बताएका छन् ।
यी विषयबारे उनको भनाइ जस्ताकोत्यस्तै–
जुन क्याविनेटले मलाई बर्खास्त गर्यो त्यसको नेतृत्व केपी ओलीले गरिरहनुभएको छ । तर, कुरा के हो भने उहाँले चाहेर मात्रै यो (मलाई हटाउने) हुँदैनथ्यो । कांग्रेसको ऊर्जामन्त्री हो, त्यहाँबाट सहमतिविना त उहाँ (उर्जामन्त्री)ले पनि गर्न सक्ने स्थितिमा थिएन र प्रधानमन्त्रीले चाहेर मात्रै पनि हुने अवस्था थिएन । त्यसो भएको हुनाले यो एउटा अहिलेको एमडी (हितेन्द्र देव) आउनुभयो त्यसमा सबैको सहमति भयो भनौँ न ।
ओभरअल कांग्रेसलाई त म भन्दिनँ, शेरबहादुर देउवा पनि सुरू सुरूमा मैले नियुक्ति गरेको हो गर्नु (हटाउनु) हुँदैन नै भन्नुहुन्थ्यो । उहाँको पनि मलाई त्यत्ति उ (डर) थिएन । अन्तिम चरणमा त्यो कसरी आयो म पनि टक्क परेँ । जे भयो राम्रो भयो । यसलाई यत्तिमै टुङ्ग्याउँ । म एक्जिट भएको छु । कसैलाई दोष दिने अवस्थामा छैन । तर, ऊर्जा मन्त्रालयको नेतृत्वचाहिँ जुन हिसाबले लागेको थियो, त्यो ऊर्जा मन्त्रालयको नेतृत्व धेरै समय रह्यो भने यो ऊर्जा क्षेत्र कोल्याप्स हुन्छ ।
मलाई सरकारले हटाउन बकैदा पाउँछ, मैले पाउँदैन पनि भनेको छैन । तर, मलाई जुन चार्जहरू लगाएर जुन अपमानित हिसाबले हटाइयो त्योचाहिँ गलत थियो भनेर अदालतले प्रमाणित गरिदिन्छ भन्ने हिसाबले म अदालत गएको हुँ । गएर आएर पनि मैले चार महिना नै बस्ने हो, तर त्यो चार महिना पनि ऊर्जा मन्त्रालयमा हुने गलत प्रवृत्तिलाई रोक्न सकिन्छ कि भन्ने पनि हो । त्यसपछि स्टे अर्डर दिएन । अब यो अध्याय सकियो ।
यसमा म कसैलाई पनि दोष दिन्नँ । सबै कुरा ऊर्जा मन्त्रालयको नेतृत्वका कारणले गर्दा सुरूदेखि यो विवाद आएको हो । म प्रधानमन्त्री (केपी शर्मा ओली) लाई पनि दोष दिन्नँ, अरुलाई पनि पार्टीलाई पनि दोष दिन्नँ, कसैलाई पनि दोष दिन्नँ अहिले । ऊर्जा मन्त्रालयको नेतृत्व (मन्त्री दीपक खड्का र सचिव सुरेश आचार्य) चाहिँ जसरी भए पनि हटाउनुपर्छ भन्ने लाइनमा थियो ।
FACEBOOK COMMENTS