काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीहरूद्वारा स्थापित गैर–नाफमूलक संस्था लक्ष्मी केयर्सले ‘अरेञ्ज लभ्स ग्रिन’ अभियानअन्तर्गत वार्षिक साइकल र्यालीको १२औं संस्करण हिजो शनिबार काठमाडौंमा आयोजना गरेको छ ।
टुँडिखेलस्थित आर्मी अफिसर्स क्लबबाट २०० भन्दा बढी साइकलयात्रीको सहभागितामा शुरू भएको सो र्याली १३ किलोमिटरको दूरी पार गर्दै गोकर्ण फरेस्ट रिसोर्टमा पुगेर सम्पन्न भएको थियो । र्यालीपश्चात् विभिन्न पेशा तथा व्यवसायमा संलग्न करीब लक्ष्मी केयर्सका एक हजार जना भन्दा बढी हितैषीको उपस्थितिमा १९७४ एडि ब्यान्डको सांगितिक प्रस्तुतिलगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रम लक्ष्मी बैंकको २०औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको थियो ।
लक्ष्मी केयर्सले उज्यालो अभियानअन्तर्गत जनचेतना अभिवृद्वि एवम् विभिन्न सांस्कृतिक तथा सार्वजनिक स्थानलाई वातावरणमैत्री प्रविधिबाट उज्यालो बनाउने उद्देश्यका लागि रकम सङ्कलन गर्ने प्रयोजनसहित साइकल र्याली कार्यक्रमको आयोजना गर्दै आएको बताइएको छ ।
सो अभियानअन्तर्गत यसअघि लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार सडक, बाराको गढिमाइ मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्य बत्ती जडान गर्नाका साथै देशभर विभिन्न स्थानमा वृक्षरोपण गरेको छ ।
FACEBOOK COMMENTS