काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन गरिएको ‘सफा गरौँ’ विशेष सरसफाइ अभियान सम्पन्न भएको छ ।
क्रिएसन नेपालको नेतृत्वमा द कोका–कोला फाउन्डेसनको सहयोग तथा पशुपति क्षेत्र विकास कोषको सहकार्यमा श्रावण महिनाभर सञ्चालन गरिएको अभियानमा ५०० भन्दा बढी स्वयंसेवक, विद्यार्थी, सरसफाइकर्मी तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधि सहभागी भएका थिए ।
श्रावण महिनामा पशुपतिनाथ मन्दिरमा भक्तजनको चाप अत्यधिक बढ्ने भएकाले फोहोर व्यवस्थापन तथा धार्मिक सम्पदाको स्वच्छता कायम गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । अभियानअन्तर्गत प्रत्येक सोमबार स्वयंसेवकहरूले सरसफाइकर्मीसँग मिलेर मन्दिर परिसरमा फोहोर संकलन तथा वर्गीकरण गरेका थिए । अभियानले फोहोर व्यवस्थापनसँगै जथाभावी फोहोर नफाल्ने बानी विकास गर्न तथा धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा सामूहिक सहभागिता बढाउन जनचेतनामूलक गतिविधिसमेत सञ्चालन गरेको थियो ।
समापन कार्यक्रममा दिगोपन तथा वातावरणीय, सामाजिक र सुशासनसम्बन्धी मूल्य अभिवृद्धि विभागका निर्देशक आदित्य पाण्डा, बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अजय कोनाले, क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्की, संस्थापक आनन्द मिश्र, पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिलगायतको उपस्थिति थियो । द कोका–कोला फाउन्डेसनका अध्यक्ष कालोस पागोआले फोहोर व्यवस्थापनमा सुधार ल्याउन र जिम्मेवार व्यवहार प्रवद्र्धन गर्न यस्ता सहकार्य महत्वपूर्ण रहेको बताए । ‘सफा गरौँ’ अभियानमार्फत स्थानीय समुदायलाई फोहोरको उचित व्यवस्थापनमा सक्रिय र सक्षम बनाउन सहयोग गर्ने उनको भनाइ थियो ।

क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले अभियानलाई एकपटकको कार्यक्रमका रूपमा मात्र नभई निरन्तर सञ्चालन हुने राष्ट्रिय अभियानका रूपमा अघि बढाउने लक्ष्य रहेको बताइन्। उनले आगामी दिनमा अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने योजना रहेको जानकारी दिइन् । अभियानअन्तर्गत पुन:प्रयोग गरिएका प्लास्टिकका बोतलबाट निर्माण गरिएका बस्ने बेन्चसमेत सार्वजनिक गरिएको छ । यसले प्लास्टिकजन्य फोहोरलाई पुन:प्रयोग गरी सार्वजनिक उपयोगका सामग्रीमा रूपान्तरण गर्न सकिने सन्देश दिएको आयोजकको भनाइ छ ।
चार सातासम्म अभियानमा सक्रिय रूपमा सहभागी स्वयंसेवक तथा सरसफाइकर्मीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । साथै, निरन्तर सहयोगका लागि पशुपति क्षेत्र विकास कोषले द कोका–कोला फाउन्डेसनलाई समेत प्रशंसापत्र प्रदान गरेको थियो ।
श्रावण महिनाको अभियानबाट प्राप्त उत्साहलाई निरन्तरता दिँदै ‘सफा गरौँ’ अभियानले आगामी १४ सेप्टेम्बर २०२६ (हरितालिका तीज) सम्म विभिन्न सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । अभियानले समुदायको सहभागिता बढाउँदै फोहोर व्यवस्थापन, दिगो अभ्यास तथा नेपालको धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।