काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले काठमाडौंका विभिन्न प्रमुख स्थानहरूमा ‘रेट मिलाऔं, म:म खाऔं’ क्याम्पेन सम्पन्न गरेको छ ।
काठमाडौंको दैनिक जीवनमा प्रचलित मोलमोलाइ (बार्गेनिङ) चलनबाट प्रेरित यस अन्तरक्रियात्मक क्याम्पेनमार्फत सयौं सहभागीलाई आकर्षित गरिएको थियो ।
यस क्याम्पेनमार्फत काठमाडौंका शहरी युवामाझ इनड्राइभको प्रमुख विशेषता, यात्रुले आफ्नै भाडा प्रस्ताव गर्न सक्ने सुविधाबारे, जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो । इनड्राइभको प्लेटफर्ममा चालकहरूले यात्रुद्वारा प्रस्तावित भाडालाई स्वीकार, अस्वीकार वा प्रतिप्रस्ताव गर्न सक्ने विशेष व्यवस्था रहेको छ ।
यही अवधारणालाई स्थानीय परिवेश र युवापुस्ताको दैनिक अनुभवसँग जोड्दै सिर्जनात्मक तथा सान्दर्भिक ढंगले प्रस्तुत गरिएको थियोे, जसले दर्शकमाझ उच्च स्तरको सम्बन्ध र संलग्नता सिर्जना गर्न सफल भएको देखिन्छ ।
‘इनड्राइभसँग यात्रा, तपाईंकै रोजाइमा’ भन्ने मूल सन्देशसहित सञ्चालन गरिएको उक्त क्याम्पेनले यात्रु र चालक दुवैलाई थप स्वतन्त्रता, पारदर्शिता तथा लचकता प्रदान गर्ने इनड्राइभको विशिष्ट सेवामोडेललाई उजागर गरेको थियो ।

क्याम्पेनमार्फत यात्रुले एपमार्फत आफ्नो रोजाइअनुसार भाडा प्रस्ताव गर्न सक्ने तथा चालकले उपयुक्त प्रतिप्रस्ताव गर्न सक्ने सुविधाबारे जानकारी दिइएको थियो । दुवै पक्षबीच आपसी सहमतिपछि अन्तिम भाडा निर्धारण हुने यस प्रणालीले निष्पक्ष तथा प्रयोगकर्ता–केन्द्रित यात्राको अनुभव प्रदान गर्ने सन्देश क्याम्पेनले प्रवाह गरेको थियो ।

काठमाडौंको परम्परागत मोलमोलाइ चलनलाई प्रवद्र्धन गर्ने उद्देश्यले इनड्राइभले बागबजार, जनबहाल, पिमबहाल तथा ठमेलमा विशेष ब्रान्डेड म:म स्टल सञ्चालन गरेको थियो । क्याम्पेनअन्तर्गत सहभागीहरूले बार्गेनिङ–थिममा आधारित विभिन्न मनोरञ्जनात्मक खेल तथा अन्तरक्रियात्मक गतिविधिहरूमा उत्साहजनक सहभागिता जनाएका थिए ।

ह्वील स्पिन, मोलमोलाइ चुनौतीलगायतका गतिविधिहरूमार्फत काठमाडौंको विशिष्ट मोलमोलाइ चलनलाई रोचक ढंगले प्रस्तुत गरिएको थियो । चुनौतीहरू सफलतापूर्वक पूरा गर्ने सहभागीहरूले नि:शुल्क म:मका साथै इनड्राइभका विशेष ब्रान्डेड उपहार सामग्री प्राप्त गरेका थिए । उक्त क्याम्पेन काठमाडौंका चार प्रमुख तथा व्यस्त क्षेत्रहरू बागबजार, जनबहाल, पिम्बहाल, र ठमेलमा सञ्चालन गरिएको थियो ।
यस क्याम्पेनमार्फत करिब २,४०० जना प्रत्यक्ष सक्रिय रूपमा सहभागी थिए । कम्पनीका अनुसार सामाजिक सञ्जालमा समेत क्याम्पेनले उल्लेखनीय सहभागिता तथा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो। विशेषगरी युवा यात्रु तथा विद्यार्थी समुदायबीच क्याम्पेन प्रभावकारी बन्न सफल भएको बताइएको छ । यस अभियानले इनड्राइभले प्रवद्र्धन गर्दै आएको निष्पक्षता, यात्रुको रोजाइको स्वतन्त्रता तथा पारदर्शी मूल्य निर्धारणको अवधारणालाई थप प्रभावकारी रूपमा उजागर गरेको कम्पनीको भनाइ छ ।
इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रिता पोखरेलले भने, ‘काठमाडौंमा स्थानीय बजार, छिमेकी पसल तथा दैनिक यातायात सेवामा समेत मोलमोलाइ गर्ने चलन गहिरोसँग स्थापित छ । ’रेट मिलाऔं, म:म खाऔं’ क्याम्पेनमार्फत हामीले यही परिचित व्यवहारलाई रमाइलो र सहभागितामूलक ढंगले प्रस्तुत गर्दै इनड्राइभको निष्पक्ष मूल्य निर्धारण अवधारणाबारे जनचेतना अभिवृद्धि गर्ने प्रयास गरेका हौं ।’
उनले क्याम्पेन सञ्चालन गरिएका चारै स्थानबाट अत्यन्त सकारात्मक र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताए । ‘यसले काठमाडौंका युवा यात्रुहरूले आफ्नो दैनिक यात्रामा थप विकल्प, पारदर्शिता र लचकताको अवधारणालाई सकारात्मक रूपमा ग्रहण गरेको देखाएको छ । साथै चालकहरूले पनि आफूअनुकूल भाडा छनोट गर्न पाउने निष्पक्ष अवसरबारे राम्रो बुझाइ विकास भएको पाएका छौं ।’
उनाँले यस्ता क्याम्पेनहरूले समुदायसँग स्थानीय परिवेशअनुकूल, सहज र अर्थपूर्ण सम्बन्ध स्थापित गर्न मद्दत गर्ने उल्लेख गर्दै थपे, ‘यस्ता पहलहरूले निष्पक्षता, पारदर्शिता र रोजाइको स्वतन्त्रताप्रतिको इनड्राइभको मूल दर्शनलाई थप प्रभावकारी रूपमा प्रवद्र्धन गर्न सहयोग पुर्याउँछन् ।