काठमाडौं । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशालाको स्वामित्व ग्रहण गरिदिन आग्रह गर्दै धुर्मुससुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिकालाई पत्र काटेको छ ।
आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भए अनुसार स्वामित्व हस्तान्तरण गर्न पत्राचार गरेको फाउन्डेशनले जनाएको छ ।
फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड–१९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भएको कारण देखाउँदै स्वामित्व लिइदिन महानगरसँग अनुरोध गरेको हो । आर्थिक सङ्कटका कारण रङ्गशाला निर्माणको काम विगत पाँच महिनादेखि रोकिएको छ ।
महानगरसँग यसअघि भएको सम्झौताका आधारमा नै फाउन्डेशनले पत्र काटेको दाबी गरेको छ । महानगरसँग भएको सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख छ भने सामान्य अवस्थामा निर्माण सम्पन्न गरी महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने जनाइएको छ ।
तर, विश्वव्यापी कोरोना संक्रमणको महामारीका कारण प्रतिकुल परिस्थिति निर्माण भएकाले सम्झौता अनुसार नै स्वामित्व हस्तान्तरणका लागि आग्रह गरिएको फाउन्डेशनको भनाइ छ ।
FACEBOOK COMMENTS