काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई (एमडी ३२५), नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं समर्पणले नवनिर्वाचित अध्यक्ष लायन दीपक कुमार अग्रवालको नेतृत्वमा लायन्स वर्ष २०२६–२७ को औपचारिक शुभारम्भ विविध सामाजिक सेवामूलक कार्यक्रममार्फत गरेको छ।
क्लबले यस वर्षको मूल नारा ““सेयर गरेर हेरचाह“ लाई आत्मसात गर्दै पहिलो दिन नक्सालस्थित ब्लु स्क्वायरमायामाहा र एमएडब्ल्यू फाउन्डेसनको सहकार्यमा उक्त वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा क्लबका सदस्य, स्वयंसेवक तथा शुभेच्छुक गरी १०० भन्दा बढी व्यक्तिको सक्रिय सहभागिता रहेको थियो। उक्त कार्यक्रममा ६८ पिन्ट रगत संकलन गरिएको छ, जसले आवश्यक रक्त अभाव न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। यसअघि बिहानै क्लबले विद्यार्थीहरूको सक्रिय सहभागितामा ट्राफिक स्वयंसेवा कार्यक्रम पनि सञ्चालन गरेको थियो।
यामाहा र एमएडब्ल्यू फाउन्डेसनको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा ट्राफिक व्यवस्थापनमा सहयोग गर्नुका साथै सडक सुरक्षा र नागरिक उत्तरदायित्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।
यस अवसरमा अध्यक्ष लायन दीपक कुमार अग्रवालले नयाँ लायन्स वर्ष सेवाभाव, समर्पण र सामाजिक उत्तरदायित्वका साथ प्रारम्भ भएको उल्लेख गर्दै भने, “हाम्रो यस वर्षको मूल नारा ‘साझा गरेर हेरचाह गर्ने’केवल शब्दमा सीमित छैन, यो हाम्रो सेवाको प्रतिबद्धता हो।

समाजलाई केही फर्काउने हाम्रो सानो प्रयासले पनि धेरैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। आजको रक्तदान र ट्राफिक स्वयंसेवा कार्यक्रम त्यसैको उत्कृष्ट उदाहरण हो।”
कार्यक्रममा क्लबका सम्पूर्ण सदस्यहरूको उत्साहजनक सहभागिताले समाजप्रति लायन्सको सेवाभाव, नेतृत्व क्षमता तथा सामूहिक उत्तरदायित्वलाई थप मजबुत बनाएको छ। लायन्स क्लब अफ काठमाडौं समर्पणले रक्तदाता, स्वयंसेवक, विद्यार्थी, स्वास्थ्यकर्मी, यामाहा, एमएडब्ल्यू फाउन्डेसन तथा कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण सहयोगी संस्थाप्रति हार्दिक आभार व्यक्त गरेको छ।
नयाँ लायन्स वर्षसँगै क्लबले शिक्षा, स्वास्थ्य, वातावरण, युवा सशक्तीकरण तथा मानवीय सेवाका विविध कार्यक्रमहरू सञ्चालन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने आफ्नो अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।