वीरगञ्ज । महिलालाई रोजगारी, स्वरोजगार तथा उद्यमशीलतामा सहज पहुँच दिलाउने उद्देश्यका साथ वीरगञ्ज महानगरपालिका–८ मा स्थापना गरिएको बाल उद्यान तथा शिशु स्याहार केन्द्र शुक्रबार सम्बन्धित वडा कार्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।
महिलाको आर्थिक सशक्तीकरण, सुरक्षित बाल हेरचाह र समावेशी आर्थिक विकासलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित स्थापना गरिएको केन्द्रले विशेषगरी कामकाजी महिलाका लागि महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रवलजंग पाण्डेले बाल हेरचाह केन्द्र महिलाको आर्थिक स्वतन्त्रता र श्रम बजारमा उनीहरूको सहभागिता बढाउने प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरेका छन ।
उनले सुरक्षित र गुणस्तरीय बाल हेरचाहको व्यवस्था भएपछि महिलाहरू उद्योग, व्यापार, सेवा, स्वरोजगार तथा अन्य आयआर्जनका क्षेत्रमा निर्धक्क भएर सक्रिय हुन सक्ने बताए ।
उनले यो केन्द्र बालबालिका राख्ने स्थान मात्र नभई महिलाको आर्थिक स्वतन्त्रताको आधार भएको समेत बताए । आफ्ना साना बालबालिकालाई सुरक्षित वातावरणमा छाडेर महिलाले रोजगारी, व्यवसाय तथा उद्यमशीलतामा सक्रिय रूपमा सहभागी हुने अवसर यस केन्द्रले सिर्जना गर्ने उनको भनाई थियो ।

उपाध्यक्ष पाण्डेले नेपालमा महिलासँग पर्याप्त सीप, क्षमता र काम गर्ने इच्छा हुँदाहुँदै पनि बालबालिका, ज्येष्ठ नागरिक तथा घरायसी जिम्मेवारीका कारण उनीहरूको आर्थिक सहभागिता अपेक्षाअनुसार हुन नसकेको उल्लेख गरे ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अध्ययनले समेत अवैतनिक हेरचाह कार्यको असमान भार महिलाको आर्थिक सहभागितामा प्रमुख बाधक रहेको देखाएको उनले बताए ।
महिलाको आर्थिक सहभागिता बढाउनु सामाजिक न्यायको विषय मात्र नभई समग्र आर्थिक विकासको आधार भएको उल्लेख गर्दै उनले महिलाको श्रम सहभागिता बढे उत्पादनशीलता, पारिवारिक आय तथा बालबालिकाको शिक्षा र स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएको जानकारी दिए ।
उनले स्थानीय सरकार, निजी क्षेत्र र विकास साझेदारबीचको सहकार्य सार्वजनिक–निजी साझेदारीको सफल उदाहरण भएको उल्लेख गर्दै महिलाको रोजगारी, उद्यमशीलता र नेतृत्व विकासका लागि यस्ता कार्यक्रम देशभर विस्तार गर्न आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले निजी क्षेत्र सधैं सरकारसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्न प्रतिबद्ध रहेको बताए ।
स्थानीय सरकारसँग पहिलोपटक महिला तथा बालबालिकामैत्री कार्यक्रम सञ्चालन गर्न पाएकोमा खुशी व्यक्त गर्दै उनले यस्ता सहकार्यले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादवले कामकाजी परिवारका लागि बाल स्याहार केन्द्र अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यस्ता सेवा विस्तार गरिनुपर्ने धारणा राखे ।
त्यसैगरी आईएलओ मधेश प्रदेशका संयोजक महेन्द्र सहनीले नेपालमा श्रम बजारमा महिलाको सहभागिता अपेक्षाकृत न्यून रहेको र करिब ४० प्रतिशत महिलाले पारिवारिक तथा सामाजिक जिम्मेवारीका कारण रोजगारीमा सहभागी हुन नसकेको तथ्य प्रस्तुत गर्दै यही अवस्थालाई मध्यनजर गरी स्थानीय सरकार र निजी क्षेत्रसँगको सहकार्यमा यस्तो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलका अनुसार वीरगञ्ज देशकै प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र भएकाले यहाँ ठूलो संख्यामा कार्यरत महिलालाई लक्षित गरी वीरगञ्ज महानगरपालिका–८ लाई केन्द्र सञ्चालनका लागि छनोट गरिएको हो ।
यस केन्द्रबाट औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत महिला, दैनिक ज्यालादारी गर्ने श्रमिक, साना व्यवसायी, स्वरोजगार महिला तथा रोजगारीको खोजीमा रहेका महिलाले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ । साथै, उनीहरूका बालबालिकाले सुरक्षित, स्वस्थ, सिकाइमैत्री र स्नेहपूर्ण वातावरणमा गुणस्तरीय हेरचाह सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ ।
बाल उद्यान तथा शिशु स्याहार केन्द्र आईएलओ नेपालअन्तर्गत सञ्चालन भइरहेको ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजनाको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ, वीरगञ्ज महानगरपालिका, वडा नं। ८, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश, वीरगञ्ज उद्योग वाणिज्य संघ तथा अन्य साझेदार संस्थाहरूको संयुक्त सहकार्यमा स्थापना गरिएको हो ।
सहभागीहरूले यस्तो पहलले महिलाको आर्थिक सशक्तीकरणसँगै समावेशी विकासको लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।