काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं। २७ ले वीर अस्पतालबाट महावौद्धतर्फ अस्पताल मार्गमा परम्परागत प्रवेश द्वार निर्माण गरेको छ ।
नवनिर्मित द्वारको आज काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, नवनिर्मित द्वारको समुदघाटन गरिन् । त्यस अवसरमा महानगरपालिकाका पूर्व उपप्रमुख एवं प्रदेश सरकारका पूर्व मन्त्री हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष योगेशकुमार खड्गीसहित पदाधिकारी सहभागी थिए ।
उद्घाटन पछिको संक्षिप्त प्रतिक्रियामा कार्यवाहक डंगोलले भनिन्, ‘यो द्वार निर्माण भएसँगै महाबौद्ध क्षेत्रको धार्मिक र पर्यटकीय महत्व थप उज्यालो भएको छ । यस्ता संरचनाले स्थानीय पर्यटन प्रवर्धनमा टेवा पुग्नेछ ।’
काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक धरोहर मानिने महाबौद्ध क्षेत्रको पहिचान र सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले वडा नं। २७ ले ‘महाबौद्ध प्रवेश द्वार’ निर्माण गरेको बताउँदै वडाध्यक्ष खड्गीले, कलात्मक प्रवेश द्वारले यस क्षेत्रको ऐतिहासिक गरिमालाई थप उचाइ दिएको बताइन् ।
१ करोड ७ लाख ९४ हजार ८ रुपियाँ लागतमा परम्परागत नेवारी शैलीमा निर्माण गरिएको द्वार महावौद्ध र समग्र वडाकै पहिचान स्मारकका रुपमा बनाइएको खड्गीको भनाइ छ । प्रवेशद्वारको शीर्ष भागको केन्द्रमा तामाबाट निर्माण भएको बुद्धका आँखा अंकित, महाबौद्ध स्तूपको प्रतीक स्वरुप गजुर स्थापना गरिएको छ ।