काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा वितरण सुरू गरिएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौंको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका घरहरूमा पानी वितरण कार्यक्रमको सुरूआत गरेका हुन् ।
सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का विभिन्न वितरण शाखामा पानी पठाइएको र ती शाखाहरुबाट वितरण सुरू हुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए ।
मेलम्चीको पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा आइसकेकाले अब काठमाडौं उपत्यकावासीका धारामा पानी वितरण सुरू गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिए ।
खानेपानीमन्त्री यादव र मेलम्ची संघर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौंमा पानी लैजाने विषयमा सहमति भएपछि मंगलबार मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको थियो । मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार राति मेलम्ची पुगेको थियो । त्यहाँ संघर्ष समितिसँग वार्तापछि बाढी पीडित संघर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्नको लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ ।
वर्षा सुरू भएसँगै धमिलो आउन थालेपछि गएको असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो । उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग रहदै आएको छ । मेलम्चीको पानी असार १० गतेदेखि बन्द गरिएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड रूपैयाँ लिटर पानी वितरण गर्दै आएको थियो ।
FACEBOOK COMMENTS