काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२ को परीक्षामा जफत गरिएका परीक्षार्थीका मोबाइलहरू नष्ट गरिनु गैरकानुनी रहेको बताएका छन् ।
आज मंगलबार बसेको मन्दिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उनले सो कार्य गैरकानुनी रहेको बताएका हुन् ।
पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘कसैको सम्पत्ति त्यसरी नष्ट गरिनु गैरकानुनी हो । विभिन्न मिडियाहरूमा शिक्षा मन्त्रालयको निर्देशनमा भएको भन्ने पनि आएको रहेछ, तर त्यस्तो होइन । बरु प्रदेश सरकारको शिक्षा मन्त्रालयबाट त्यस्तो निर्णय भएको भन्ने बुझिन आएको छ,’ उनले भने, ‘जुन निर्देशनबाट त्यस्तो भयो त्यो पूर्णत: गैरकानुनी छ ।’
विद्यार्थीको न्यायका लागि सम्बन्धित मन्त्रालयले नै आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ छ । कसैले कानुनी प्रक्रियाको सहायतामा अदालत गएर क्षतिपूर्ति भराउने भन्ने निर्देशन पायो भने मात्रै क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ ।
परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाको विरोधमा हिजो सोमबारदेखि विद्यार्थी सङ्गठनहरूले प्रदर्शनको सुरू गरेका छन् ।

उनीहरूले जफत गरिएका मोबाइल तथा स्मार्ट घडीको उचित क्षतिपूर्ति उपलब्ध गराउन, विद्यार्थीमाथि भएको अन्यायको अन्त्य गर्न र पीडितलाई न्याय दिन माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैतमा सम्पन्न एसईई र कक्षा–१२ परीक्षाका क्रममा जफत गरिएका करिब ५०० मोबाइल फोन र स्मार्ट घडी नष्ट गरेको थियो ।

प्रशासनका अनुसार सात वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र पाँच वटा स्मार्ट वाच बरामद गरिएको थियो । ती उपकरणको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ ।