काठमाडौं । फ्रान्सका लागि नेपालका पूर्वराजदूत समेत रहेका सेन्टर फर डिप्लोमेसी एन्ड डेभलपमेन्टका संस्थापक अध्यक्ष मोहनकृष्ण श्रेष्ठले देशको राष्ट्रिय सार्वभौमिकता भन्दा माथि कुनै पनि विषय हुन नसक्ने बताएका छन् ।
उनले राष्ट्रिय सार्वभौमिकताको संरक्षण र राष्ट्रिय हितको प्रवद्र्धन राज्यको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार सेन्टर फर डिप्लोमेसी एन्ड डेभलपमेन्ट र जेभियर एकेडेमीले काठमाडौंमा आयोजना गरेको ‘वर्तमान परिस्थितिमा राज्यहरूले आफ्नो सार्वभौमसत्ता कसरी संरक्षण गर्ने र राष्ट्रिय हित प्रवद्र्धन गर्ने’ विषयक संयुक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वराजदूत श्रेष्ठले यस्तो बताएका हुन् ।
श्रेष्ठले बदलिँदो विश्व परिवेशमा हरेक मुलुकले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर विदेश नीति तथा कूटनीतिक सम्बन्ध अघि बढाउनुपर्ने बताए । उनले नेपालको भौगोलिक अवस्था, प्राकृतिक स्रोत, सांस्कृतिक पहिचान र ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै मुलुकको सार्वभौमिकता र राष्ट्रिय हितको संरक्षणमा विशेष संवेदनशील हुनुपर्ने धारणा राखे ।
राष्ट्रिय हितको संरक्षण सरकारको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै श्रेष्ठले यसका लागि आम नागरिकको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने बताए । देशलाई कसरी समृद्ध र बलियो बनाउन सकिन्छ भन्ने विषयमा सरकार, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज तथा आम नागरिक सबैले गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ थियो ।
नेपालले आफ्ना विशिष्ट पहिचान र सम्भावनालाई विश्व बजारमा स्थापित गर्न संगठित र रणनीतिक प्रयास आवश्यक रहेको श्रेष्ठको भनाइ थियो । उनले नेपालको प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई केवल पर्यटनको विषयका रूपमा मात्र नभई आर्थिक कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्ने माध्यमका रूपमा उपयोग गर्न सकिने बताए ।
नेपालले आफ्नो सफ्ट पावरलाई प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै श्रेष्ठले नेपालको संस्कृति, बुद्ध दर्शन, हिमाल, प्राकृतिक सौन्दर्य, आतिथ्यता तथा आध्यात्मिक पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रभाव बढाउने आधार बनाउन सकिने बताए ।
त्यस्तै, उनले आर्थिक कूटनीतिलाई पनि रणनीतिक रूपमा अघि बढाउनुपर्ने बताए । नेपालको कूटनीतिक सम्बन्धलाई व्यापार, लगानी, पर्यटन, रोजगारी तथा आर्थिक अवसर विस्तारसँग जोड्न सके मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुग्न सक्ने उनको भनाइ थियो ।
नेपालले विश्वका विभिन्न मुलुकसँगको सम्बन्धलाई केवल राजनीतिक वा कूटनीतिक सम्बन्धमा सीमित नराखी त्यसलाई आर्थिक लाभ र राष्ट्रिय हितसँग जोड्नुपर्ने श्रेष्ठले बताए । नेपाली उत्पादन, पर्यटन, सेवा तथा सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न राज्यका सम्बन्धित निकाय र निजी क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए ।
उनले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै विदेश नीति सञ्चालन गर्नुपर्ने र अन्तर्राष्ट्रिय परिवेशमा देखिएका अवसर तथा चुनौतीलाई समयमै पहिचान गर्नुपर्ने बताए । विश्व शक्ति सन्तुलनमा भइरहेको परिवर्तनका बीच नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र सार्वभौमिकताको संरक्षण गर्दै सबै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले पनि बदलिँदो विश्व राजनीतिक तथा आर्थिक परिवेशमा नेपालको राष्ट्रिय हित, सार्वभौमिकता, कूटनीतिक क्षमता र आर्थिक सम्भावनालाई कसरी प्रभावकारी रूपमा अघि बढाउन सकिन्छ भन्ने विषयमा धारणा राखेका थिए । कार्यक्रममा विद्यार्थी, कूटनीतिज्ञ, शिक्षाविद्, नीति निर्माता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।