काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपालमा सवारी प्रदुषण मापदण्ड युरो–६ लागू गर्ने प्रस्तावलाई सकारात्मक रूपमा लिए पनि आवश्यक पूर्वाधार नभएकाले एकैचोटी लागू गर्न नहुने बताएको छ ।
सरकारको प्रस्ताव सकारात्मक भए पनि पूर्वाधार पर्याप्त नभएकाले चरणबद्धरूपमा लागू गर्दै जानु उचित हुने धारणा नाडाको छ । युरो–६ मापदण्ड लागू गर्नका लागि देशमा उपयुक्त पूर्वाधारहरूलगायत दक्ष प्राविधिक जनशक्ति तयार गर्दै चरणबद्धरूपमा लागू गर्न सरकारसँग नाडाले अनुरोध समेत गरेको छ ।
त्यस्तै युरो–६ मापदण्ड लागू हुँदा कमर्शियल सवारीसाधनको मूल्य ४० प्रतिशतसम्मले बढ्ने नाडाको भनाइ छ । आज आइतबार नयाँ प्रदुषण मापदण्डको विषयमा पत्रकार सम्मेलन गरेर नाडाले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
‘सवारीसाधनमा नयाँ मापदण्ड लगाउने विषयमा नाडा सकारात्मक छ । तर, एकैचोटी यूरो–३ वा त्यो सो–सरहको मापदण्डबाट यूरो–६ सरहमा उक्लिदा धेरै रकम खर्च गर्नुपर्ने हुन्छ । त्यसले समग्रमा मूल्य वृद्धि गराउँछ,’ पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष ध्रुब थापाले भने । तत्कालका लागि यूरो–४ वा सो–सरहको मापदण्ड नै उपयुक्त हुने नाडाको जोड छ ।
महङ्गीबाहेक पनि यूरो–६ वा सो–सरहको मापदण्ड लागू गर्दा सर्भिसिङ नेटवर्क चुस्त बनाउन कठिन हुने बताउँदै नाडाले भनेका छ, ‘लोकल ग्यारेज सञ्चालकलाई ट्रेनिङ लगायतका कामका लागि कम्तीमा २ वर्षको थप समय उपलब्ध गराउनुपर्ने देखिन्छ । त्यसका लागि अहिले युरो–४ वा सो सरहको मापदण्ड नै लागू गर्न नाडाले सरकारलाई सुझाव दिएको छ ।
FACEBOOK COMMENTS