काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चीन अटो चोङछिङ सम्मेलन २०२५ (सीएसीएस–२०२५) मा सहभागिता जनाएको छ ।
यही जेठ २३ र २४ गते (जुन ६–७) चीनमा आयोजित चोङछिङ सम्मेलनमा नाडाले ऐतिहासिकरूपमा सहभागिता जनाएको हो । नाडाको इतिहासमा यस किसिमको सहभागिता पहिलो पटक हो ।
सम्मेलनमा परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण भन्ने मुख्य विषयवस्तुमा केन्द्रित हुँदै नयाँ ऊर्जा र स्मार्ट प्रविधिको संक्रमणबारे विश्वव्यापी छलफल गरिएको थियो ।
नाडाका अध्यक्ष करण चौधरीले चीन–आसियान सत्रमा प्यानलिस्टको रूपमा सहभागिता जनाउँदै नेपालको अटोमोबाइल क्षेत्र, व्यापारिक सम्भावना र क्षेत्रीय सहकार्यका अवसरहरुबारे धारणा व्यक्त गरेका थिए । यसै क्रममा उनले दुई उच्चस्तरीय बन्द सत्रहरूमा पनि सहभागिता जनाए । सो कार्यक्रममा चीन–आसियान ईभी सहयोग, दिगो यातायात र विद्युतीय सवारी प्रवर्द्धनबारेसमेत छलफल गरिएको थियो ।
सम्मेलनमा डेलिगेशन संवादसमेत सम्पन्न भएको थियो । जसमा बहुपक्षीय लगानी र व्यापार नीतिमा सहकार्यका सम्भावनाहरुबारे समेत विचार विमर्श गरिएको थियो । उक्त सम्मेलनमा नाडाले नेपालको व्यवसाय प्रवर्द्धन गर्ने स्टल समेत राखेको थियो । जहाँ नेपालको विद्यमान बजार सम्भावनाहरू, नीतिहरुको अवस्था र वातावरण, तथा नाडाले आउँदो अगष्टमा काठमाडौंमा आयोजना गर्ने नाडा अटो शो २०२५ को सम्बन्धमा समेत जानकारी प्रदान गरिएको थियो ।
यसबारे चिनियाँ अटोमोबाइल कम्पनीहरूको तर्फबाट उच्च चासो व्यक्त भएको अध्यक्ष चौधरीले जानकारी दिए । उनका अनुसार नाडाको यो सहभागिताले नेपालको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारलाई प्रवर्द्धन गर्न थप मद्दत पुगेको छ ।
सम्मेलनमा नाडाका तर्फबाट महासचिव सुरेन्द्रकुमार उपे्रती, केन्द्रीय कार्यसमिति सदस्यद्वय प्रकाश कपुरी र यमुना श्रेष्ठ, आमन्त्रित केन्द्रीय कार्यसमिति सदस्यद्वय अनुपकुमार बराल तथा नारायणप्रसाद पौडेललको सहभागिता थियो ।
यो पनि पढ्नुहोस्– NADA Represents Nepal at China Auto Chongqing Summit 2025, Showcasing Opportunities in EV and Trade Cooperation
हेरौँ केही तस्बिरहरू
FACEBOOK COMMENTS