काठमाडौ। एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले राजीनामा दिएका छन्।
२०८२ कात्तिक १५ गतेदेखि सीईओको जिम्मेवारी सम्हालेका फोलेले राजीनामा दिएका हुन्।
फोलेले दिएको राजीनामा स्वीकृत गर्दै एनसेल सञ्चालक समितिले भदौ ९ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्मका लागि हाल प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठलाई अन्तरिम सीईओ बनाइएको छ।
एनसेलले नयाँ सीईओ नियुक्त नगरेसम्मका लागि ‘लिमिट अफ अथोरिटी’ श्रेष्ठलाई प्रदान गरेको छ। यस्तै, एनसेलले आफ्नो उच्च व्यवस्थापनमा अवकास प्राप्त नेपाली सेनाका उच्च अधिकृतलाई भित्र्याएको छ। स्रोतका अनुसार एनसेलले नेपाली सेनाका पूर्व मेजर जनरल सन्तोषकुमार ढकाललाई ‘चिफ अफ स्टाफ’ को जिम्मेवारी प्रदान गरेको छ।
त्यसैगरी, एनसेलले कर्पोरेट कम्युनिकेसन तथा सस्टेनिबिलिटी निर्देशक विशाखा लक्ष्मी खड्कालाई एनसेल फाउन्डेसनको निर्देशकको जिम्मेवारी दिएको छ।

एनसेलले व्यवस्थापनमा भएको फेरबदलबारे भदौ १६ गते नै नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिसकेको छ। प्राधिकरणका एक अधिकारीले एनसेलको सीईओ फेरिएको बारे पत्र प्राप्त भइसकेको पुष्टि गरेका छन्।
पछिल्लो समय सरकारको स्वामित्वमा गइसकेको स्मार्ट टेलिकमको सम्पत्ति नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसेललाई बिक्री गरेको विषयमा बैंक तथा एनसेलका अधिकारी माथि मुद्दा दायर गरिएको छ।
मुद्दा दायर भएकाले नेपालका बसेर काम गर्ने अवस्था नभएपछि एनसेलका सीईओ फोलेले राजीनामा दिएको बुझिन्छ। यद्यपि केही समय अघि नेपाल आएर कार्यालयसमेत गएका फोलेले आफ्ना सहकर्मीहरूलाई पारिवारिक दायित्व भएको भन्दै आफूले जिम्मेवारी छोड्न लागेको जानकारी दिएका थिए।