काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने भएको छ । सरकारले अध्यादेशमार्फत लगानी सहजीकरण गरेपछि चेम्बरले आईटी उद्योगमा लगानी एवं अन्तर्राष्ट्रिय बजारमा सहजीकरण गर्ने गरी रणनीतिक लक्ष्य तय गरेको हो ।
आईटी, सफट्वेर एण्ड टेक्नोलोजी समितिमार्फत चेम्बरले आईटी उद्योगमा लगानीको खोजी एवं उद्यमशिलता विकासका लागि पहल गर्नेछ । चेम्बरले यसका लागि आईटी उद्यमीहरूसँग एक चरण छलफलसमेत गरिसकेको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालमा आर्थिक विकास र समृद्धिका लागि आईटी उद्योगको सम्भावना उच्च भएकाले लगानीका लागि सहजीकरण गर्न लागिएको बताए ।
उनले भने, ‘नेपालमा विदेशी मुद्रा आर्जन गर्ने महत्त्वपुर्ण स्रोत अब आईटी उद्योग हो, सरकारले पनि आगामी एक दशकमा वार्षिक ३० खर्ब भित्र्याउने लक्ष्यसहित कार्ययोजना तय गरेको छ । सूचना प्रविधि उद्योगको विकासका लागि लगानी जुटाउनेदेखि अन्तर्राष्ट्रिय बजारमा चेम्बरले सहजीकरण गर्नेछ ।’
सर्वसाधरणको लगानी जुटाएर आईटी उद्योगको स्थापना गर्न सकिने अध्यक्ष अग्रवालको भनाइ छ । अन्तर्राष्ट्रिय आईटी उद्योगका लागि नेपालको जनशक्ति तुलनात्मक रूपमा केही सस्तो पर्न जाने भएकाले पनि उपयुक्त अवसरको खोजी गरिनुपर्ने उनले बताए । नेपालका युवाहरूलाई आईटी उद्योगमा सहभागी गराउन नीतिगत सहजीकरण गर्न चेम्बरले भूमिका निर्वाह गर्नेसमेत अध्यक्ष अग्रवालले बताए ।
चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले पब्लिक प्राइभेट पार्टनरशिपको अवधारणामा कम्पनी खडा गरेर आईटी उद्योगको विकासमा लाग्नुपर्ने बताए । अन्तर्राष्ट्रिय ठूलाठूला कम्पनीको ब्याकअपका रूपमा स्वदेशमै बसेर काम गर्न सकिने निर्वतमान अध्यक्ष मल्लको भनाइ छ ।
चेम्बरको आईटी सफ्टवेयर एण्ड टेक्नोलोजी कमिटीका सभापति विज्ञान श्रेष्ठले आईटी उद्योगको विकास र विस्तारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताए । युवाहरूको नवप्रर्वर्तन आइडिया र सोचलाई सार्थक बनाउन लगानीको पहुँच वृद्धि गरिनुपर्नेमा श्रेष्ठले जोड दिए ।
FACEBOOK COMMENTS