काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नौ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले बुधबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गरे ।
विश्वविद्यालयका अनुसार पदाधिकारी तथा कर्मचारीको तलब र भत्ताबाट कट्टा गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो ।
उपकुलपति, रेक्टर र रजिष्ट्रारले एक महिनाको तलब तथा प्राध्यापक र प्रशासनतर्फका सोसरहका कर्मचारीले मासिक सुरु तलब स्केलको १० दिनबराबरको रकम योगदान गरेका छन् ।

त्यस्तै, उपप्राध्यापक तथा उपप्रशासक र शाखा अधिकृत तथा प्रशिक्षक वा सोसरहका शिक्षक–कर्मचारीबाट सात दिनबराबर, मुख्य कार्यालय सहायक तथा कार्यालय सहायक वा सोसरहका कर्मचारीबाट पाँच दिनबराबर र श्रेणीविहीन कर्मचारीबाट दुई दिनबराबरको पारिश्रमिक कट्टा गरी कोषमा जम्मा गरिएको विश्वविद्यालयले जनाएको छ ।

कुलपति थापाका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनःस्थापना कार्यमा योगदान पु¥याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो ।
विश्वविद्यालय कार्यकारी परिषद्को हालै बसेको बैठकले विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।