काठमाडौँ । नेपाल कबड्डी लिग (एनकेएल) सिजन–२ का लागि ६ सहरका ६ टिमले ‘प्लेयर्स ड्राफ्ट’मार्फत आइतबार कुल ८४ खेलाडी आबद्ध गरेका छन्। तीमध्ये ५४ नेपाली र ३० विदेशी खेलाडी रहेका छन्।
ड्राफ्टका लागि १४२ नेपाली खेलाडीलाई तीन क्याटगोरीमा वर्गीकरण गरिएको थियो भने विदेशी खेलाडीतर्फ १४ देशका ८० खेलाडीलाई पनि सोही आधारमा समावेश गरिएको थियो।
पहिलो सिजनका १० खेलाडीलाई रिटेन गरिएको थियो, जहाँ प्रत्येक टिमले बढीमा दुई खेलाडी राख्न पाउने व्यवस्था थियो। बाँकी ७४ खेलाडी ड्राफ्टमार्फत छनोट गरिएका हुन्।
यस सिजनमा विराटनगर बाहुबली टिमको अध्यक्षमा भवानी राणा तथा टिम म्यानेजिङ डाइरेक्टरमा लेलिन बिष्ट रहेका छन्। प्रतियोगिता जेठ २२ (जुन ५) देखि दशरथ रंगशाला अन्तर्गत रहेको राखेप कभर्डहल, त्रिपुरेश्वरमा सञ्चालन हुनेछ।

