काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन र सुरक्षण विशेषतासहितको एक हजार रुपियाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै ‘सिरिज २०२५’ अन्तर्गतको एक हजार रुपियाँको नोट प्रचलनमा ल्याइएको जनाएको हो।
नयाँ नोटको आकार भने यसअघिकै नोटसरह कायम राखिएको छ भने रङमा परिवर्तन गरिएको छ।
नयाँ नोटको अग्रभाग बैजनी रङको घेराभित्र फिक्का हरियो रङमा तयार गरिएको छ। यसको अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप तथा ‘१०००’ अंकित पानीछाप राखिएको छ। दृष्टिविहीन व्यक्तिले स्पर्शका माध्यमबाट नोट पहिचान गर्न सकून् भन्ने उद्देश्यले नोटमा रोमन अक्षर ‘एम’ र तेर्सा रेखासमेत राखिएको राष्ट्र बैंकले जनाएको छ।
नोटमा प्रकाशअनुसार रङ परिवर्तन हुने विभिन्न सुरक्षण विशेषता पनि समावेश गरिएको छ। जसअनुसार सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र तथा सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिने चलायमान सुरक्षण धागो राखिएको छ। नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलको दस्तखत रहेको छ। नोटको पछाडिको भागमा चितवनस्थित सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिने जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’ को चित्र समावेश गरिएको छ।
त्यसैगरी, नेपालको सातवटै प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी सातवटा लालीगुराँसका चित्र राखिएका छन्। पछाडिको भागमै हनुमानढोकास्थित ल्होँचोकमा रहेको ऐतिहासिक थामको आकृतिसमेत समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ।


