काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट रकम संकलन गर्न २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बोलकबोल आह्वान गरेको छ।
केन्द्रीय बैंकले आज (मंगलबार) एक सार्वजनिक सूचना जारी गर्दै ऋणपत्र २०८४ ङ अनलाइन प्रणालीमार्फत बिक्री गर्न लागिएको जानकारी दिएको हो।
यस ऋणपत्रको बोलकबोल प्रक्रियामा सर्वसाधारणले भने भाग लिन पाउने छैनन्। राष्ट्र बैंकका अनुसार यसमा केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउन्टरपार्टी) मात्र सहभागी हुन योग्य हुनेछन्।
ऋणपत्र किन्न चाहने बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदर (दशमलव पछाडिको चार अंकसम्म) खुलाएर अनलाइनमार्फत आवेदन दिनुपर्नेछ।
यसका लागि लगानीकर्ता संस्थाले न्यूनतम ५ करोड रुपैयाँ वा सो रकमले नि:शेष भाग जाने (५ करोडको गुणाङ्क) गरी कुल आह्वान गरिएको २५ अर्ब रुपैयाँसम्मकै लागि बोलकबोल गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।