काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) साह र नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा नेपालको समग्र आर्थिक हित तथा एडीबीले पुर्याउँदै आएको दातृ सहयोगका विषयमा सघन छलफल भएको छ।
जेनजी आन्दोलनको राजनीतिक परिवर्तनपछि बालेन साह प्रधानमन्त्री नियुक्त भएलगत्तै अध्यक्ष कान्दाले सामाजिक सञ्जाल एक्स मार्फत नेपालको नयाँ विकास प्राथमिकताहरूमा साझेदारी गर्ने घोषणा गरेका थिए।
सोही प्रतिबद्धता अनुरुप दुई दिने नेपाल भ्रमणको सिलसिलामा उनले प्रधानमन्त्री शाहसँग प्रत्यक्ष भेटघाट गरेका हुन्।
यसअघि, अध्यक्ष कान्दाको भ्रमणकै अवसरमा सोमबार नेपाल सरकार र एडीबीबीच २५ अर्ब रुपैयाँ (१६ करोड ५० लाख अमेरिकी डलर) बराबरको सहुलीयतपूर्ण ऋण सम्झौता भइसकेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अध्यक्ष कान्दाको उपस्थितिमा खानेपानी, ढल व्यवस्थापन तथा भन्सार सुधारका दुई ठूला आयोजनामा लगानी गर्न सो सम्झौता भएको हो।
उक्त ऋण सम्झौता पत्रमा अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका थिए।