काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र सडक खुलाउने कार्यलाई निरन्तरता दिएको छ।
सेनाका अनुसार पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदी बस्तीमा पसेर घरहरू बगाएपछि नयाँ रणभिम गुल्मको टोली घटनास्थलमा खटिएको छ। सेनाले स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्नुका साथै सरसामान स्थानान्तरणमा सहयोग गरिरहेको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–२ भुताहामा नारायणी नदीको बहाव बढेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्न नं. २ वन तथा पर्यावरण सुरक्षा गणको टोली परिचालन गरिएको छ। सुस्ता गाउँपालिका–५ मा पनि डुबानको जोखिम बढेपछि गोरखदल गणको सुरक्षा वेश त्रिवेणीबाट सेना खटिएर स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ।
पाल्पाको माथागढी गाउँपालिका–३ लेन्दीमा पहिरोले घर पुरेको खबरपछि दि फेमस महिन्द्र दल गणको टोली घटनास्थलमा पुगेर खोज तथा उद्धार गरिरहेको छ।
यस्तै, भरतपुर महानगरपालिका–१ देवघाट र वडा नम्बर ३ बाह्रघरेमा नारायणी नदीको सतह बढेपछि नयाँ सबुज गणको टोली स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्न परिचालन भएको छ।

धनुषाको मिथिला नगरपालिका–११ आपगाछी, चुरेमा पहिरोले घर पुरिएको खबरपछि नेपाली सेनाको टोली खोज तथा उद्धारका लागि खटिएको छ।

यसैबीच, तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा पहिरो र लेदोका कारण अवरुद्ध सडकखण्ड सेनाको काली भञ्जन गण (ई) को टोलीले स्थानीय निकायसँगको समन्वयमा अवरोध हटाएर पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ।