काठमाडौं । बालेन्द्र साहको नेतृत्वमा दुई तिहाइ नजिकको सरकार गठन भएसँगै नेपाली शेयर बजारमा उत्साह देखिने अपेक्षा गरिएको थियो ।
स्थिर सरकार, आर्थिक सुधार, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडाइ हुने विश्वासले लगानीकर्ताहरू सकारात्मक बनेका थिए । तर, सरकार गठनपछि बजारमा अपेक्षित सुधारको विपरीत निरन्तर गिरावट देखिँदा लगानीकर्ताहरू निराश बनेका छन् ।
सरकार गठनपछिको पहिलो कारोबार १५ चैत २०८२ मा नै नेप्से परिसूचक तीव्र रूपमा घटेको थियो । कारोबार सुरू भएलगत्तै ओरालो लागेको बजार दिनभर उतारचढावमा रहँदै अन्तत: ७१.०५ अङ्कले घटेर दुई हजार ८७९ दशमलव ११ विन्दुमा बन्द भएको थियो ।
त्यसयता बजारले स्थायित्व पाउन सकेको छैन । बुधबारसम्म आइपुग्दा परिसूचक दुई हजार ७४४ दशमलव ४४ विन्दुमा झरेको छ । साह नेतृत्वको सरकार गठनपछि बजार धेरै तल नझरे पनि माथि उक्लन नसक्दा लगानीकर्तामा अन्योल बढेको छ । बालेनको नेतृत्वको सरकार बनेयता बुधबारसम्ममा नेप्से परिसूचक २०५ दशमलव ७१ विन्दुले घटेको छ । वर्तमान सरकार गठन हुनुअघि चैत १२ गते नेप्से परिसूचक दुई हजार ९५० दशमलव १६ विन्दुमा थियो भने हिजो बुधबार दुई हजार ७४४ दशमलव ४५ विन्दुमा झरेको छ ।
शेयरबजारको एकमहिने कारोकार प्रवृत्ति तालिकामा हेर्नुहोस्–

| चैत महिनामा नेप्से र कारोबार | ||
| गते | दैनिक नेप्से परिसूचक | दैनिक कारोबार रकम |
| १५ | २,८७९.११ | १४,७८०,५०६,३५५ |
| १६ | २,८३१.३९ | १२,६८४,०११,६११ |
| १७ | २,८५१.०९ | १०,९३३,८२४,०९२ |
| १८ | २,७७६.३६ | ११,८३९,८६५,९४४ |
| १९ | २,७८२.१८ | ८,६९६,००७,४९२ |
| २२ | २,६७६.६८ | १२,१८५,२९८,४५२ |
| २३ | २,७६०.०२ | १०,७५२,९२७,१२३ |
| २४ | २,७५७.४० | ६,६०६,१३३,७६८ |
| २५ | २,८०२.५२ | ८,१५७,३१२,६३२ |
| २६ | २,८५१.२४ | ९,७५१,१८८,६४० |
| २७ | २,८३७.७८ | ८,९०८,२८३,२४६ |
| ३० | २,८३३.६० | ८,६०२,३९३,३७२ |
| वैशाख महिनामा नेप्से र कारोबार | ||
| गते | दैनिक नेप्से परिसूचक | दैनिक कारोबार रकम |
| २ | २,८६६.८७ | १०,२८४,८५४,००६ |
| ३ | २,८३३.०३ | ९,२०१,१३७,६२६ |
| ४ | २,८३८.४० | ७,३९२,७३८,४९० |
| ७ | २,८२५.२३ | ५,३६५,१२९,७१४ |
| ८ | २,८०७.१२ | ५,६६०,३९२,९७० |
| ९ | २,८०४.१७ | ७,७१०,१३६,७०१ |
| १० | २,७८७.१५ | ४,९९५,३२३,४९५ |
| ११ | २,७८८.७० | ५,१६८,४७६,००४ |
| १४ | २,७९६.४३ | ४,६४८,९१९,०४३ |
| १५ | २,७७०.२६ | ६,४१२,३७६,२२६ |
| १६ | २,७४४.४५ | ४,८४५,३७४,३५८ |
किन बढेन नेप्से ?

सरकार गठनलगत्तै केही हाई प्रोफाइल राजनीतिक र व्यावसायिक व्यक्तिहरूमाथि कारबाही गरिएको घटनाले शेयर बजारमा मनोवैज्ञानिक असर पारेको विश्लेषण गरिएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस नेता एवमे पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वऊर्जामन्त्री दीपक खड्का लगायतलाई नियन्त्रणमा लिइएको घटनापछि बजारमा अस्थिरता बढेको देखिएको हो ।

यस्तै, व्यवसायी दीपक भट्ट, शङ्कर लाल अग्रवाल, सुलभ अग्रवाललगायतलाई पनि सरकारले पक्राउ गरेको थियो । यी मध्ये धेरै रिहा भइसकेका छन् भने केही हिरासतमै छन् । उनीहरू रिहा भए पनि घटनाको अनुसन्धान जारी रहेकोलगायत प्रारम्भिक घटनाले लगानीकर्तामा त्रास सिर्जना गरेको विश्लेषकहरू बताउँछन् ।
यसका साथै अमेरिका र इजरायल मिलेर इरानमाथि भइरहेको पछिल्लो आक्रमण, लामो समयदेखि चलिरहेको रुस–युक्रेनलगायत अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रभाव पनि नेपालको अर्थतन्त्रमा बढिरहेको छ । जसले नेपाली बजारमा महङ्गी तीव्ररूपमा बढाइरहेको छ । यसको प्रभाव पनि शेयर बजारमा देखिएको छ ।
शेयर विश्लेषक इराज राउतका अनुसार सरकारले हाल भ्रष्टाचार नियन्त्रण र गैरकानुनी गतिविधिमाथि निगरानी बढाएको छ । जसको प्रभाव बजारमा देखिएको हो । ‘सरकारले राम्रो र नराम्रो छुट्याउने प्रयास गरिरहेको छ । तर त्यसले लगानीकर्ताहरूलाई आत्तिने अवस्था सिर्जना गरेको छ,’ उनले भने । उनका अनुसार बजारमा रहेका केही ठूला लगानीकर्ताहरू बाहिरिन खोज्दा बिक्री दबाब बढेको छ र त्यसले बजारलाई तलतिर तानेको छ ।
यस्तै, सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई तीव्र बनाएको छ । यसले दीर्घकालीन रूपमा सकारात्मक सन्देश दिने भए पनि तत्कालका लागि बजारमा नकारात्मक प्रभाव देखिएको विश्लेषण गरिएको छ । लगानीकर्ता रविन पोखरेलका अनुसार सम्पत्ति शुद्धीकरणको कडाइबारे बजारमा गलत सन्देश फैलिएको छ ।
‘ठूला लगानीकर्ताहरू बजारबाट बाहिरिन्छन् भन्ने हल्लाले लगानीकर्ताहरूमा त्रास बढाएको छ,’ उनले भने । उनका अनुसार सरकारको उद्देश्य सकारात्मक भए पनि त्यसलाई स्पष्ट रूपमा बुझाउन नसक्दा बजारमा गलत सन्देश गएको छ ।
नयाँ सरकारसँग लगानीकर्ताहरूले स्पष्ट पुँजी बजार नीति अपेक्षा गरेका थिए । तर, हालसम्म सरकारले शेयर बजारप्रति आफ्नो धारणा सार्वजनिक नगरेकाले लगानीकर्ताहरू अन्योलमा छन् । लगानीकर्ता अम्बिका प्रसाद पौडेलले संस्थागत लगानीकर्ताहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् । ‘संस्थागत लगानीकर्ताहरू पुँजी बजारका मेरुदण्ड हुन् । तर, कर नीति र लकिङ पिरियडजस्ता प्रावधानले उनीहरू निरुत्साहित भएका छन्,’ उनले भने ।
विश्लेषकहरूका अनुसार अहिलेको गिरावटलाई बजारको ‘करेक्सन’ को रूपमा पनि लिन सकिन्छ । विगतमा सीमित लगानीकर्ताहरूले बजारमा प्रभाव जमाउने, मूल्य कृत्रिम रूपमा बढाउने र साना लगानीकर्तालाई जोखिममा पार्ने प्रवृत्ति देखिएको थियो । इराज राउत भन्छन्, ‘बजार सधैँ बढ्दैन । अहिलेको गिरावट स्वाभाविक करेक्सन हो । केही समयपछि बजार फेरि उकालो लाग्ने सम्भावना छ ।’
राजनीतिक गतिविधि र आन्दोलनको प्रभाव पनि बजारमा देखिएको छ । जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाक्रमले बजारमा थप अन्योल सिर्जना गरेको विश्लेषण गरिएको छ । आन्दोलन र विरोध प्रदर्शनले लगानीकर्ताहरूलाई सतर्क बनाएको छ ।
यसैबीच, अर्थमन्त्री स्वर्णिम वाग्लेले लगानीकर्तासँग भेट गर्दै बजार सुधारप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले लगानीकर्ताहरूलाई नअत्तालिन आग्रह गर्दै सुधारका कामहरू अघि बढिरहेको बताएका छन् ।
यद्यपि, विश्लेषकहरूका अनुसार सरकारको प्रतिबद्धता व्यवहारमा देखिनु आवश्यक रहेको छ । स्पष्ट नीति, दीर्घकालीन योजना र लगानीकर्तालाई आश्वस्त पार्ने कदम चालिए मात्रै बजारमा सुधार आउने विश्वास गरिएको छ ।
हालको अवस्थामा लगानीकर्ताहरूको मनोविज्ञान नै बजारको मुख्य निर्धारक बनेको छ । नीति अस्पष्टता, कारबाहीको डर र बजार अझै घट्न सक्ने आशङ्काले लगानीकर्ताहरू ‘प्यानिक सेल’तर्फ उन्मुख भएका छन् । विशेषज्ञहरूका अनुसार बजार स्थिर बनाउन सरकारले स्पष्ट नीतिगत मार्गचित्र सार्वजनिक गर्नुपर्ने देखिन्छ । साथै, हल्ला र अफवाह नियन्त्रण गर्दै लगानीकर्तामा विश्वास कायम गर्नु आवश्यक रहेको उनीहरूको भनाइ छ ।
बालेन सरकारप्रति उच्च अपेक्षा रहे पनि शेयर बजारले तत्काल सकारात्मक सङ्केत दिन सकेको छैन । तर, दीर्घकालीन रूपमा सुधारका प्रयास सफल भए बजार पुन: उकालो लाग्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन् । अहिलेका लागि भने लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा छन् ।