काठमाडौं । निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।
मोरङको विराटनगर महानगरपालिका–१२, बखरीमा रहेको कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली तथा निर्देशिकाबमोजिम नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि आईपीओ निष्काशन गर्ने जनाएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।
आईपीओ निष्काशनसम्बन्धी सम्झौतापत्रमा निप्पोन फर्मास्युटिकलका प्रबन्ध निर्देशक मन्टु घिमिरे र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।
निप्पोन फर्मास्युटिकलले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार ट्याबलेट, क्याप्सुल, तरल औषधि, मलम, क्रिम, जेल, ओआरएस, ड्राइ सिरप तथा पेनिसिलिनलगायत विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएको जनाएको छ।

कम्पनीले सन् २०२२ देखि व्यावसायिक उत्पादन तथा बजारीकरण सुरु गरेको र हालसम्म विभिन्न थेराप्युटिक सेगमेन्टका ६० भन्दा बढी उत्पादन बजारमा ल्याइसकेको जनाएको छ।

कम्पनीका अनुसार नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि आईपीओ निष्काशन प्रक्रिया अघि बढाइनेछ।