काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक प्रतिवेदन अनुसार नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहने संशोधित अनुमान थियो । प्रतिवेदनअनुसार विश्व अर्थतन्त्र सन् २०२६ मा ३.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ भने विश्वव्यापी मुद्रास्फीति ४.४ प्रतिशत रहने अनुमान गरिएको छ ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी ६१.८१ प्रतिशत रहने अनुमान छ । प्राथमिक क्षेत्रको योगदान २४.४६ प्रतिशत र औद्योगिक क्षेत्रको योगदान १३.७३ प्रतिशत रहनेछ ।
कृषि क्षेत्रमा खाद्य तथा अन्य बाली उत्पादन ६.७६ प्रतिशतले घटेको छ । तरकारी तथा बागबानी उत्पादन १.०२ प्रतिशत र फलफूल उत्पादन ६.५१ प्रतिशतले बढेको छ । त्यस्तै दूध उत्पादन २५.९७ प्रतिशतले घट्दा मासु उत्पादन ७.३७ प्रतिशत र अन्डा उत्पादन ६.७३ प्रतिशतले वृद्धि भएको छ ।
औद्योगिक क्षेत्रको क्षमता उपयोग औसत ४२.११ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जामध्ये ३०.८२ प्रतिशत औद्योगिक क्षेत्रमा गएको प्रतिवेदनमा उल्लेख छ । सेवा क्षेत्रतर्फ चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६ लाख ३ हजार १५० विदेशी पर्यटक नेपाल आएका छन् । घरजग्गा रजिष्ट्रेशन संख्या १०.४ प्रतिशतले घटे पनि यसबाट प्राप्त राजस्व ६८.५ प्रतिशतले बढेर १८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप एक वर्षमा १५.३९ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ६.२४ प्रतिशतले वृद्धि भएको छ । कुल निक्षेप र कर्जामा बागमती प्रदेशको हिस्सा क्रमश: ६५.५२ प्रतिशत र ६०.३३ प्रतिशत रहेको छ । कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम रहेको छ ।

सवारी साधन दर्ता संख्या ७.२२ प्रतिशतले बढेको छ भने छनोटमा परेका सहकारी संस्थाको कुल पुँजी ०.०४ प्रतिशतले घटेको छ । यद्यपि ती सहकारीहरूको बचत ८.९१ प्रतिशत र कर्जा १.५५ प्रतिशतले वृद्धि भएको छ । पूर्वाधारतर्फ समीक्षा अवधिमा १५९.०१ किलोमिटर कालोपत्रे सडक, ४ किलोमिटर ग्राभेल सडक र ३२ किलोमिटर माटे सडक निर्माण सम्पन्न भएको छ ।

बाह्य क्षेत्रतर्फ पहिलो ६ महिनामा वस्तु निर्यात ४३.७६ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ भने आयात १४.१८ प्रतिशतले बढेर ९ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा पुन:श्रम स्वीकृतिसहित ३ लाख ९६ हजार ८६ जना वैदेशिक रोजगारीमा गएका छन् ।
संघीय सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमध्ये पुस मसान्तसम्म ६ खर्ब ९० अर्ब रुपैयाँ खर्च गरेको छ । यस्तै प्रदेश सरकारहरूले विनियोजन गरेको कुल बजेटमध्ये ४० अर्ब ७३ करोड रुपैयाँ खर्च गरेका छन् ।
राष्ट्र बैंकले सरकारी नीतिगत सुधार, बजेट कार्यान्वयन र आर्थिक गतिविधिमा क्रमिक सुधारका कारण चालु आर्थिक वर्षमा अर्थतन्त्र सकारात्मक रहने अनुमान गरेको छ । यद्यपि पश्चिम एशियालगायत क्षेत्रमा बढ्दो भूराजनीतिक तनावका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धिले मुद्रास्फीतिमा दबाब सिर्जना गर्न सक्ने चेतावनी पनि प्रतिवेदनमा दिइएको छ ।