काठमाडौं । गैरआवासीय नेपालीले नेपालमा लगानी गर्न सधैं इच्छुक रहेको तर लगानी गर्दा मुख्य रूपमा दुई समस्या टड्कारो रहेको बताएका छन् ।
चीनको ग्वाङ्झाउमा चलिरहेको ११औँ एसिया प्यासिफिक सम्मेलनमा उपस्थित सहभागीहरूले लगानी चुनौतीबारे धारणा राखेका हुन् ।
एसिया प्यासिफिक क्षेत्रदेखि अमेरिका र युरोपसम्म फैलिएका नेपाली नेपालमै केही गर्न चाहने तर लगानी गर्दा भोग्नुपर्ने झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षा चिन्ताले मुख्य रूपमा सताउने गरेको उनीहरूले बताए ।
एनआरएनएका पूर्वअध्यक्ष एवम् कोरियालाई कार्यक्षेत्र बनाई व्यवसाय गरिरहेका विनोद कुँवरले नेपालमा काम कम गर्ने, गफ बढी गर्ने प्रवृत्ति रहेको बताए । उनले नेपालमा कानुनी प्रक्रिया पनि झन्झटिलो र लामो समयसम्म अल्झनुपर्ने भएकाले लगानीकर्ता निरुत्साहित हुने गरेको बताए ।
‘मैले नेपाल र कोरिया दुवै देशमा बराबर लगानी गरिरहेको छु । नेपालमा गफ धेरै काम कम हुन्छ भन्ने अनुभव भइरहेको छ,’ कुँवरले भने, समयअनुसारको योजना बनाउनुपर्छ । समयमै काम हुनुपर्छ । नत्र त्यो कामले नतिजा दिँदैन । अनि समय पनि पर्याप्त दिनुपर्छ ।’
नेपालको कानुनले चारदेखि पाँच घन्टा कामै गर्न नदिने र यसले दुःख हुने बताए । ‘जहाँ जहाँ कानुनी समस्या छन् त्यसलाई तत्कालका लागि सरकारले सहजीकरण गर्नुपर्छ । नेपालमा ब्याजदर महँगो छ,’ उनले भने, ‘यस्ता कुरामा पनि पुनर्विचार गर्नुपर्छ ।’
एनआरएनएका पूर्वअध्यक्ष उपेन्द्र महतोले बाहिर रहेका हरेक नेपाली ‘मेरो देश कहिले बन्छ?’ भनेर चिन्तन गरेर बसेको र ‘मैले नगरे कसले गर्छ ?’ भन्ने चिन्ता उनीहरूमा देखिएकाले नेपाल सरकारले यसलाई अवसरका रूपमा अघि बढाउनुपर्ने सुझाव दिए । ‘नेपाल नेपालीहरूले नै बनाउने हो ।