काठमाडौं । त्रिशूली नदीमा आएको बाढी तथा बाढीपहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५ करोड रुपैयाँ बराबरको राहत प्याकेज घोषणा गरेको छ।
संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राईसहितको टोलीले नुवाकोटको बट्टार, त्रिशूली बजारलगायतका प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी राहत सामग्री वितरण गरेको छ।
स्थलगत निरीक्षणपछि डा. महतोले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा देखिएको भन्दा वास्तविक क्षति निकै भयावह रहेको बताए। उद्धार तथा राहतको प्राथमिक समय भएकाले संघले खाद्यान्न, लत्ताकपडा, औषधि र टेन्टलगायतका अत्यावश्यक सामग्री वितरण सुरु गरेको उनले जानकारी दिए।
डा. महतोका अनुसार पहिलो चरणमा ५ करोड रुपैयाँ बराबरको राहत वितरण गरिनेछ। त्यसपछि नेपाल सरकारसँग समन्वय गरी प्रभावित क्षेत्रमा पुन:स्थापना तथा पुनर्निर्माणका कार्यमा गैरआवासीय नेपालीहरूको भूमिकाबारे छलफल गरिनेछ।
एनआरएनएकी केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राईले विपद्को समयमा विदेशमा रहेका नेपालीहरूको मन पीडितहरूसँगै रहेको बताउँदै प्रभावितलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताइन्।

उनका अनुसार संघले आपत्कालीन बैठकमार्फत ५ करोड रुपैयाँको राहत प्याकेज घोषणा गरेको हो। टोलीले युएन स्ट्यान्डर्डका पाल, खाद्यान्न, औषधिलगायतका अत्यावश्यक सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेर राहत वितरण सुरु गरेको छ।
संघले स्थानीय प्रशासन, प्रमुख जिल्ला अधिकारीको कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी राहत वितरणलाई प्रभावकारी बनाउने जनाएको छ। विगतमा भूकम्प तथा कोभिड–१९ को समयमा पनि सक्रिय भूमिका निर्वाह गरेको स्मरण गर्दै उपाध्यक्ष राईले आगामी दिनमा प्रभावित क्षेत्रको पुन:स्थापना र पुनर्निर्माणमा समेत सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
प्रभावित क्षेत्रमा नेपाली सेनालगायत सुरक्षा निकायले बेपत्ताको खोजी तथा घाइतेको उद्धार कार्य जारी राखेका छन्। एनआरएनएको टोलीले नुवाकोटपछि अन्य प्रभावित जिल्लामा समेत पुगेर राहत वितरण गर्ने जनाएको छ।