काठमाडौं । भदौ १० गते बुधबार रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाले अहिलेसम्म ७०६ जनाको उद्धार गरेको छ ।
नेपाली सेनाका हेलिकोप्टरमार्फत शुक्रबार दिउँसो ३ बजेसम्म टिमुरे, स्याफ्रुवेशी, मैलुङ्लगायतका क्षेत्रबाट ७०६ जनाको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये ४० जना विदेशी नागरिक रहेका छन् ।
नेपाली सेनाका अनुसार उद्धार गरिएका विदेशी नागरिकमा २९ जना भारतीय, चार जना जर्मन, चार जना चिनियाँ, एक जना ओमानी र दुई जना कोरियाली नागरिक रहेका छन् ।
बाढी प्रभावित जिल्लाहरूमा नेपाली सेनाका करिब ४ हजार ५ सयभन्दा बढी फौज परिचालन गरिएको छ । सेनाले विभिन्न निकायसँग समन्वय गरी घाइतेहरूको खोज तथा उद्धार, आपत्कालीन उपचार तथा राहत सामग्री वितरणको काम गरिरहेको जनाएको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामलाई निरन्तरता दिइएको नेपाली सेनाले जनाएको छ ।