काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा आवेदन माग गरेको छ ।
पुरुषोत्तम खनालले राजीनामा दिएपछि खाली भएको पदमा मन्त्रालयले एक हप्ताभित्र आवेदन दिन माग गरेको हो ।
मन्त्रालयले ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्तिले आवेदन दिनसक्ने उल्लेख गरेको छ । अध्यक्षको योग्यतामा शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव भएको हुनुपर्नेछ ।
तर सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा स्नातक गरी प्रथम श्रेणी, दशौँ तहभन्दा माथि काम गरेको अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।
आवेदन दिँदा ५ हजार शब्दको व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ। दरखास्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्थान समन्वय शाखामा दिन सकिनेछ ।
उम्मेदवारले पेस गरेको व्यावसायिक कार्ययोजना, सोको प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्यांकनका आधारमा नियुक्ति सिफारिस गरिनेछ ।
मन्त्रालयले सर्टलिस्ट गरी मन्त्रिपरिषद्मा पेस गर्नेछ । मन्त्रिपरिषद्ले एक जना अध्यक्ष नियुक्त गर्नेछ । मन्त्रिपरिषद्ले हाल नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।
FACEBOOK COMMENTS