काठमाडौं । आज संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दैछ ।
आज प्रतिनिधि सभा अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । त्यसैगरी आज संयुक्त समिति संसदीय सुनुवाइ समिति (संयुक्त) को पनि बैठक बस्दैछ ।
बिहान ११ बजेका लागि बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२७ लाई आरोग्य वर्षका रुपमा मनाउन लागेको सन्दर्भमा सोको तयारी सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ भने नेपाल नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयलाई दिइएको निर्देशन कार्यान्वयनको अवस्था र तत्पश्चात् प्राप्त थप उपलब्धी सम्बन्धमा छलफलको समेत कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान ९ बजेका लागि बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
त्यस्तै बिहान साढे ९ बजेका लागि बोलाइएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको आन्तरिक कार्यविधिका सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

त्यसैगरी बिहान साढे ९ बजेका लागि बोलाइएको समिति संसदीय सुनुवाइ समितिको बैठकमा आगामी सुनुवाइ सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी गर्ने सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।