पोखरा । पोखरा महानगरपालिकाले अधेरीकुनादेखि फेवातालसम्म बग्ने करिब आठ किलोमिटर लामो फिर्के खोलाको खोला घरभित्र बनेका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ ।
खोलालाई सफा, स्वच्छ र प्राकृतिक बहावमा फर्काउँदै वातावरणमैत्री तथा व्यवस्थित कोरिडोर निर्माण गर्ने योजनाअनुसार अतिक्रमण हटाउने कार्य अघि बढाइएको महानगरले जनाएको छ।
यसका लागि नगर प्रमुखको अध्यक्षतामा फिर्के खोला क्षेत्रका आठवटै वडाका वडाध्यक्षको बैठकले खोला घरभित्रको पछिल्लो अवस्थाको स्थलगत अध्ययन गरी पूर्ण विवरणसहितको प्रतिवेदन सात दिनभित्र पेश गर्न प्राविधिक र नगर प्रहरीलाई जिम्मेवारी दिएको छ ।
महानगरले यसअघि आफ्ना संरचना आफैँ हटाउने मौखिक सहमति गरेका व्यक्ति तथा संस्थालाई भदौ १५ गतेभित्र अनिवार्य रूपमा संरचना हटाउन पुनः आग्रह गरेको छ । तोकिएको समयभित्र संरचना नहटाए महानगरले प्रचलित कानुनबमोजिम हटाई त्यसबापत लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकीसरह असुल गर्ने चेतावनी दिएको छ ।
महानगरले असोज १ गतेदेखि पोखरा महानगरपालिका भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८० (दोस्रो संशोधन–२०८२) कार्यान्वयन गर्दै फिर्के खोलाको कोरिडोर निर्माणसम्बन्धी प्राविधिक तथा अन्य आवश्यक काम सुरु गर्ने जनाएको छ । साथै फिर्के खोलाको संरक्षण, विकास र संवर्द्धनमार्फत वातावरणमैत्री पोखरा निर्माणको अभियानमा सहयोग गर्न सबै नगरवासीलाई आग्रह गरेको छ।