काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८१/८२को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रूपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ ।
नेपाल विद्युत प्राधिकरणले चालु आवको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ७ रूपैयाँ ६३ पैसा छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत निर्यात सुरू भइसकेको छ । भारतसँगको विद्युत व्यापार भारतीय रूपैयाँ (भारू) मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत बिक्री गरी भारू आम्दानी गरिरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरू र प्रसारण लाइनमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताए ।
‘सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीका संरचनामा पहिरोले क्षति पुर्याउँदा विद्युत उत्पादन बन्द छ, त्यस्तै अन्य साना आयोजनाहरू पनि क्षति पुग्दा विद्युत उत्पादन हुन सकेको छैन, काबेली करिडोर प्रसारण लाइनलाई माइखोलामा आएको बाढीले क्षति पुर्याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाहरूको करिब २ सय मेगावाट विद्युत उत्पादन बन्द भयो, जसका कारण असोज र कात्तिकको विद्युत निर्यात प्रभावित हुन पुग्यो,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘यसबाट चालु आवमा राखिएको करिब ३० अर्ब रूपैयाँ विद्युत निर्यातको लक्ष्यसमेत प्रभावित हुने देखिएको छ ।’
माथिल्लो तामाकोशीको पुनर्निर्माण धमाधम भइरहेको छ भने काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ । हिउँद सुरू भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत आयोजनाहरूको विद्युत उत्पादन कम हुनेछ । उत्पादनले आन्तरिक मागलाई मात्र धान्ने भएकाले अब विद्युत निर्यात क्रमशः घट्दै जाने छ । हिउँदका केही महिनामा विद्युत आयात गर्नु पर्नेछ ।
साउनमा ४ अर्ब १४ करोड ५० लाख ७७ हजार रूपैयाँको विद्युत निर्यात गरिएको छ । साउनमा ४९ करोड ५६ लाख ६ हजार युनिट विद्युत निर्यात गरिएको हो । साउनमा निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ८ रूपैयाँ ३६ पैसा थियो ।
भदौमा ३ अर्ब ६७ करोड ८४ लाख ४८ हजार रूपैयाँको विद्युत निर्यात गरिएको छ । भदौमा निर्यात गरिएको ५५ करोड ९४ लाख ४७ हजार युनिट विद्युतको औसत दर प्रतियुनिट ६ रूपैयाँ ५८ पैसा थियो ।
असोजमा ३ अर्ब ६ करोड ५१ लाख ३९ हजार रूपैयाँको विद्युत निर्यात गरिएको छ । असोजमा ३७ करोड ९२ लाख ६३ हजार युनिट विद्युत निर्यात गरिएको हो । यस महिनाको औसत दर प्रतियुनिट ८ रूपैयाँ ०८ पैसा रहेको छ ।
कात्तिकमा २३ करोड ३५ लाख ७६ हजार युनिट विद्युत निर्यात गरिएको छ । कात्तिकमा १ अर्ब ८३ करोड ७ लाख ९५ हजार रूपैयाँको विद्युत निर्यात गरिएको हो । यस महिनाको औसत दर प्रतियुनिट ७ रूपैयाँ ८४ पैसा रहेको छ ।
प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरूबाट उत्पादित ९४१ मेगावाट विद्युत बिक्री गर्न स्वीकृति पाएको छ ।
गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रूपैयाँको विद्युत आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रूपैयाँको विद्युत निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रूपैयाँ बढीको विद्युत निर्यात गरी खुद विद्युत आयातकर्ताबाट नेपाल खुद विद्युत निर्यातकर्ता बनेको थियो ।
FACEBOOK COMMENTS