काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले आगामी आर्थिक वर्षको बजेटमार्फत आम उपभोक्ताको हक हितका लागि उपभोक्ता अदालतको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।
विश्व उपभोक्ता अधिकारी दिवस, २०८० अर्थात् १५ मार्चको अवसरमा आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै मञ्चले दैनिक जीवन सहज गर्नका लागी खाद्यान्न लगायतको सामग्रीहरूको आपूर्ति व्यवस्था सहज गर्नका लागि उपभोक्ता अदालतको व्यवस्था गरिनुपर्ने बताएको हो ।
‘हामी आशा गरौं र आशावादी छौं सरकारले आगामी बर्षको वार्षिक बजेट तथा कार्यक्रममा उपभोक्ता अधिकार संरक्षणका लागि उपभोक्ता अदालतको व्यवस्था र उपभोक्ताको दैनिक जीवन सहज गर्नका लागि खाद्यान्न लगायतको सामग्रीहरुको आपूर्ति व्यवस्था सहज गरी आफ्नो उपस्थिति देखाउन र स्वच्छ तथा प्रतिस्पर्धी बजार सार्वभौम उपभोक्ताको अधिकार सुरक्षित गर्ने काममा ठोस कदम चाल्ने छ,’ सवज्ञसप्तमा भनिएको छ ।
आम नागरिकको दैनिक जीवनसँग सरोकार राख्ने दिवसको रुपमा विश्वव्यापी रुपमा मनाउने विश्व उपभोक्ता अधिकार दिवसको (१५ मार्च) अवसरमा सम्पूर्ण नेपाली नागरिक अर्थात उपभोक्ताहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दै मञ्चले विज्ञप्तिमा लेखेको छ, ‘बिगतमा उपभोक्ता अधिकार दिवसकै दिनम सरकारकै स्वामित्वमा रहेको आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने काम गर्ने, खाद्य व्यापार कम्पनीले ढुसी परेको चामल पश्चिमेली नेपाली जनतालाई बेच्ने काम गरी यस पटक नहोला ।’
यस्तै, तरकारीको मूल्य फेरे जस्तै सरकार फेरिने राजनीतिक दलका नेतृत्ववर्गले यस वर्षको दशैं तिहारमा तस्करहरुले ल्याएको चिनी चामलले आपूर्ति व्यवस्था सुदृढ भएको दावी सरकारबाट जसरी भयो त्यो आम उपभोक्ताको लागी लज्जाको विषय भयो । अन्तर मन्त्रालयको समन्वयको अभावमा आम उपभोक्ताले चिनी प्रतिकिलो १६० रुपैयाँमा किन्न बाध्य भए भने चामल प्रतिबोरा ६०० रुपैयाँसम्म बढी मूल्य तिरेर किन्नुपर्दा समेत अर्थमन्त्रीले आपूर्ति व्यवस्था सहज भएको घोषणा गरेको सुन्दा वाक्क लागेका आम नेपाली जनताले पुन: विश्व उपभोक्ता अधिकार दिवसकै पूर्व सन्ध्यामा दलीय समीकरणमा परिवर्तन आई नयाँ गठबन्धनको सरकार बनेको प्रसङ्ग पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘स्वच्छ र प्रतिस्पर्धी बजार सार्वभौम उपभोक्ता अधिकार भन्ने नेपाल सरकारको आह्वानलाई सबै तह र तप्काले सफल बनाउन क्रियाशील रहनेछ भन्ने अपेक्षासहित विश्व उपभोक्ता अधिकार दिवसको उपलक्ष्यमा सबैमा पुन: एक पटक शुभ कामना व्यक्त गर्दछौं,’ मञ्चका अध्यक्ष प्रेमलाल महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
FACEBOOK COMMENTS