काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी तथा भ्रष्टाचार सम्बन्धी कसुरमा झापा दमकस्थित एक विद्यालयका पदाधिकारीविरुद्ध आरोपपत्र दायर गरेको छ।
विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यलाईविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो।
आयोगका अनुसार दमक नगरपालिका–२ स्थित हिमालय माध्यमिक विद्यालयमा नमुना विद्यालय भवन निर्माण गर्दा मूल्याङ्कनभन्दा बढी रकमको काम भएको देखाउँदै झुट्टा बिल भर्पाई बनाई बढी भुक्तानी लिइएको पाइएको हो। साथै विद्यालयको नगद रकम व्यक्तिगत प्रयोजनमा प्रयोग गरी हिनामिना तथा दुरुपयोग गरिएको उनीहरूमाथि आरोप छ।
आयोगले भ्रष्टाचार निवारण ऐन,२०५९ अनुसार बिगो करिब ९ लाख ३३ हजार रुपैयाँ कायम गरी कैद तथा जरिवाना सजायसहित असुलउपरको मागदाबी गरेको जनाएको छ।