काठमाडौं । सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराउन आदेश दिएको छ ।
गोल्छाका तर्फबाट उनकी पत्नी सीमा गोल्छाले सोमबार सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई यस्तो आदेश दिएको हो ।
आदेशमा भनिएको छ, ‘सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्नु भनी प्रस्तुत आदेश र रिट निवेदनको एक एक प्रति नक्कलसमेत साथै राखी विपक्षीहरुका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि निवेदकलाई म्याद थप गरी अनुसन्धान भइरहेको भनिएको फाइलसमेत झिकाइ नियमानुसार पेस गर्नू ।’
गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको थियो । गोल्छालाई सीआईबीको टोलीले गत बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।