काठमाडौं । उनी हुन् सुरुङ उद्धारविज्ञ प्राध्यापक आर्नोल्ड डिक्स।
रसुवाको बाढीपछि सुरुङभित्र फसेका श्रमिकको उद्धार अभियानमा अहिले एक अन्तर्राष्ट्रिय नाम चर्चामा छ, जुन नाम हो उनै प्राध्यापक आर्नोल्ड डिक्सको।
अस्ट्रेलियाली इन्जिनियर तथा भूगर्भविद् डिक्स सुरुङ तथा भूमिगत संरचना उद्धारका विशेषज्ञ हुन्।
उनी इन्जिनियरिङसँगै कानुन र भूगर्भ विज्ञानको समेत अनुभव भएका विज्ञ हुन् र अन्तर्राष्ट्रिय टनेल क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका छन्।
उनले संसारका कठिन भन्दा कठिन परिस्थितिको बाबजुद पनि सुरुङभित्र फसेका मानिसहरूको उद्धार गरेका छन्। तर उनले रसुवा बाढीग्रस्त सुरुङहरूमा जारी उद्धार अभियान आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा भएको बताएका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सुनाउँदै उनले आफ्नो जीवनमै यस्तो कहिल्यै नभएको बताएका छन्
। उनले लेखेका छन्, ‘नेपालको स्थिति विगतको भन्दा भिन्न रहेको छ। अहिले नेपालमा हामीले त्यस्तो अवस्थाको सामना गरिरहेका छौँ, जुन मैले पहिले कहिल्यै भोगेको थिइनँ। यहाँ कुनै एउटा मात्र उद्धार होइन, फरक–फरक स्थानहरूमा एकैपटक धेरै सम्भावित उद्धारहरू सँगसँगै अगाडि बढिरहेका छन्, जहाँ हरेक ठाउँमा आ–आफ्नै खतरा, अनिश्चितता र अझै पनि जोगाउन सकिने जीवनहरू जोडिएका छन्।’
अनुभवी विज्ञको यो भोगाईले नेपालमा भदौ १० गते आएको बाढी कति भयानक थियो भन्ने बुझ्न कठिन हुँदैन।
१७ दिन पछि ४२ जनाको उद्धार
डिक्स सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यरा सुरुङमा फसेका ४१ श्रमिकको सफल उद्धार गरेपछि चर्चित बनेका हुन्।
१७ दिनसम्म चलेको उक्त उद्धारमा मेसिनबाट गरिएको प्रयास जोखिमपूर्ण बन्दै गएपछि उनले थप सावधानी अपनाउँदै हातैले सानो–सानो भागमा खनेर अघि बढ्ने रणनीतिमा जोड दिएका थिए।
अन्तत: सबै ४१ श्रमिकलाई सकुशल बाहिर निकालिएको थियो। त्यही अनुभव बोकेर डिक्स अहिले नेपालको रसुवा बाढीपछि भूमिगत सुरुङमा फसेका मानिसको खोज तथा उद्धारमा प्राविधिक सल्लाह दिइरहेका छन्।
डिक्सको जादुयी रणनीति
नेपाली अधिकारीहरूले उनलाई उद्धार रणनीति बनाउन सहयोगका लागि बोलाएका हुन्। सुरुमा उनी टाढैबाट उद्धार टोलीलाई प्राविधिक सुझाव दिइरहेका थिए भने पछिल्लो अभियानमा स्थलमै पुगेर अवस्थाको मूल्यांकनसमेत गरेका छन्।
रसुवामा बाढी र लेदोले सतहको भौगोलिक स्वरूप नै परिवर्तन गरिदिएपछि उद्धार टोलीका लागि सुरुङको प्रवेशद्वार पत्ता लगाउनु ठूलो चुनौती बनेको थियो।
बाढीले सडक, पुल र आयोजनाका बाहिरी संरचना बगाएकाले पहिलेको नक्सा मात्र हेरेर उद्धार सम्भव थिएन। डिक्सको टोलीले पुराना इन्जिनियरिङ नक्सा, भू–उपग्रहबाट प्राप्त तस्बिर तथा हेलिकोप्टरबाट प्राप्त दृश्यलाई एकसाथ अध्ययन गरेर भूमिगत संरचनाको सम्भावित स्थान पहिचान गर्ने रणनीति अपनायो।
डिक्सले उद्धारका क्रममा प्रयोग गरेको महत्त्वपूर्ण अवधारणा हो—‘गोल्डिलक्स जोन’। यसको अर्थ भूमिगत संरचनाभित्र त्यस्तो स्थान हो, जहाँ बाढीको प्रत्यक्ष प्रभाव कम परेको हुनसक्छ, पर्याप्त हावा बाँकी हुनसक्छ र मानिसहरू केही समयसम्म जीवित रहन सक्ने सम्भावना हुन्छ।
उनका अनुसार सुरुङ वा भूमिगत पावरहाउस पूर्ण रूपमा क्षतिग्रस्त भएको नहुन सक्छ। त्यसैले बाहिर सबै कुरा ध्वस्त देखिए पनि भूमिगत संरचनाको कुनै सुरक्षित भागमा मानिसहरू जीवित रहेको सम्भावनालाई तत्काल अस्वीकार गर्न नहुने उनको धारणा थियो।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा उद्धार टोलीले सुरुङसम्म पुग्न विभिन्न उपाय अपनायो। ठूलो परिमाणमा लेदो, ढुङ्गा र पानीका कारण भारी उपकरण प्रयोग गर्नु जोखिमपूर्ण थियो।
त्यसैले परिस्थिति हेरेर ड्रिलिङ, विस्फोटक प्रयोग, पानी व्यवस्थापन र हातैले बाटो खोल्ने जस्ता विधिलाई संयोजन गरिएको थियो। सबैभन्दा ठूलो जोखिम थियो—उद्धारका क्रममा थप पहिरो वा पानी सुरुङभित्र पस्न सक्ने सम्भावना। गलत ठाउँमा ड्रिल गर्दा संरचना भत्किन सक्ने भएकाले हरेक कदम जोखिमको मूल्यांकन गरेर चाल्नुपर्ने अवस्था थियो।
डिक्सले यही कारण उद्धारलाई केवल मेसिन लगाएर खन्ने काम नभई भूगर्भ, पानीको दबाब, सुरुङको संरचना र मानिस बाँच्न सक्ने सम्भावित स्थानको संयुक्त अध्ययनका रूपमा अघि बढाए।
यही रणनीतिक खोजका क्रममा त्रिशूली–३ ‘ए’को भूमिगत संरचनाबाट सञ्जय साह र कबीर महर्जनलाई नौ दिनपछि जीवितै उद्धार गर्न सफलता मिल्यो। उद्धारपछि उनीहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो। दुई जनाको जीवित उद्धारले अन्य सुरुङमा फसेकाहरूको खोजीमा समेत नयाँ आशा जगाएको छ।
डिक्सले पनि यो सफलतालाई थप उद्धारका लागि महत्त्वपूर्ण संकेतका रूपमा लिएका छन्। तर डिक्स स्वयंले नेपालको उद्धार अभियानलाई आफ्नो करियरकै सबैभन्दा कठिन परीक्षामध्ये एक बताएका छन्।
डिक्सलाई त्यस्तो लाग्नु स्वाभाविक नै हो किनभने रसुवाको बाढीले सुरुङ मात्र अवरुद्ध गरेको छैन, उद्धारकर्ताले काम गर्ने बाहिरी भूगोल नै बदलिदिएको छ।
उनले भनेजस्तै त्रिशूली–३ ‘ए’बाट दुई जनाको जीवित उद्धारले बाहिरबाट सबैथोक ध्वस्त देखिए पनि भूमिगत संसारमा जीवनको सम्भावना अन्तिमसम्म बाँकी हुन सक्छ भन्ने कुरा प्रमाणित गरेको छ।
भारतको सिल्क्यरा सुरुङमा फसेका मजदुरहरूको १७ दिनपछि उद्धार गरिएको थियो। त्यसैले रसुवा बाढीका कारण सुरुङभित्र फसेका मजदुरहरूलाई पनि सकुशल फर्काउन सकिन्छ भन्ने आशा उद्धारकर्मीमा मात्र नभई आम नेपालीलाई छ।