काठमाडौं । गर्गगोत्रीय आचार्यहरूको संस्था गर्गाचार्य समाज काठमाडौंले आयोजना गरेको ‘श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ’ सम्पन्न भएको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा अवस्थित समाजको केन्द्रीय कार्यालयमा फागुन २२ गतेदेखि सुरू गरिएको महायज्ञ २८ गते सम्पन्न गरिएको हो ।
महायज्ञमा दैलेख निवासी सुप्रसिद्ध कथावाचक पण्डित आचार्य श्यामशरण र दोलखा निवासी पण्डित महेन्द्र प्रसाद पण्डितले कथा वाचन गरेको समाजका अध्यक्ष केशव कुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार महायज्ञमा कथा श्रवण गर्न दैनिक तीनदेखि चार सय जनासम्म श्रद्धालुहरू आएको र उनीहरूबाट करिब २७ लाख रुपैयाँ दान/भेटी सङ्कलन भएको छ । सङ्कलित दान/भेटीलाई संस्थाको गतिविधिहरूमा प्रयोग गरिने अध्यक्ष आचार्यले जानकारी दिए ।
महायज्ञका अवसरमा समाजका पूर्वध्यक्ष विष्णु राज आचार्य, भवन निर्माण समितिका संयोजक दिनेश कुमार शर्मा आचार्य र महायज्ञ व्यवस्थापनका निम्ति गठन गरिएको ओमकृष्ण आचार्य नेतृत्वको उपसमिति समूहलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै, महायज्ञमा उपस्थित भइ पाँच हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म दान/भेटी प्रदान गर्नेलाई प्रमाणपत्र प्रदा नगरिएको र १५ हजार रुपैयाँ भन्दा माथि दान/भेटी अर्पण गर्नेको नाम शिलालेखमा लेखिने अध्यक्ष आचार्यले जानकारी दिए ।
महायज्ञमा काठमाडौं निर्वाचन क्षेत्र नं. २ की सांसद सोविता गौतम, पूर्वमन्त्री एवम् दोलखाका नेता आनन्द प्रसाद पोखरेललगायत अन्य थुप्रै विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।
दोलखाको बिगु र गौरीशंकर गाउँपालिकाबाट काठमाडौं आइ स्थायी तथा अस्थायी बसोबास गर्ने गर्गगोत्री आचार्यहरूले ‘गर्गाचार्य समाज काठमाडौं’ निर्माण गरेका हुन् । उनीहरूले सामुहिक पहलबाट काठमाडौंमा समाजको नाममा जग्गा र भवन निर्माण गरिसकेका छन् ।
साथै भवन परिसरमा ‘गर्गेश्वर महादेव’को मन्दिर समेत निर्माण गरेका छन् । मन्दिर निर्माण गर्न चार लाख रुपैयाँ खर्च भएको र सो रकम समाजका उपाध्यक्ष पवन आचार्यले उपलब्ध गराएको समाजका महासचिव नवराज आचार्यले जानकारी दिए ।
हेर्नुहोस् थप तस्बिरहरू–
FACEBOOK COMMENTS