काठमाडौं । प्रधानमन्त्री बालेन साहकी स्वकीय उपसचिव प्रकृति ढकालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा अमेरिकाको न्युयोर्कमा आयोजना हुने उच्चस्तरीय जलवायु छलफलमा नेपालका पछिल्ला जलवायुजन्य विपद्का अनुभव प्रस्तुत गर्ने भएकी छन्।
ढकालका अनुसार उनी सेप्टेम्बर २४ देखि २७ सम्म न्युयोर्कमा रहनेछिन्। आज बुधबार नेपाली समयअनुसार करिब साँझ ७ बजे जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘एसीटी एलायन्स’ले संयुक्त राष्ट्रसंघको महासभा तथा जलवायु सप्ताहका अवसरमा आयोजना गर्ने ‘नयाँ जलवायु वास्तविकतासँग अनुकूलन : बढ्दो प्रभावले किन नयाँ प्रतिक्रियाको माग गर्छ?’ विषयक उच्चस्तरीय छलफलमा उनले सहभागिता जनाउनेछिन्।

उक्त छलफलमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचनाभित्र र बाहिरबाट नयाँ जलवायु वास्तविकतालाई सम्बोधन गर्न अपनाउनुपर्ने उपायबारे छलफल हुनेछ।
ढकालले केही दिनअघि रसुवा–भोटेकोशी क्षेत्रमा भएको विपद्पछि नेपालको अनुभवलाई उक्त अन्तर्राष्ट्रिय छलफलमा प्रस्तुत गर्ने बताएकी छन्। उनले रसुवा–भोटेकोशी क्षेत्रमा भएको विपद्ले जलवायु परिवर्तनसँग अनुकूलन गर्ने क्षमताको सीमालाई देखाएको उल्लेख गर्दै क्षतिको आकारअनुसार नै त्यसको सामना गर्ने प्रतिक्रिया र सहयोग पनि प्रभावकारी हुनुपर्ने बताएकी छन्।

उनले जलवायु परिवर्तनका कारण बढ्दै गएका प्रभावले परम्परागत अनुकूलनका उपाय मात्र पर्याप्त नहुने अवस्था देखिएको उल्लेख गर्दै बदलिँदो जलवायु वास्तविकताअनुसार नयाँ उपाय र प्रतिक्रिया आवश्यक रहेको धारणा राखेकी छन्।

न्युयोर्कमा आफ्नो कार्यक्रम निकै व्यस्त रहे पनि त्यहाँ रहेका नेपाली तथा जलवायु क्षेत्रमा काम गरिरहेका व्यक्तिहरूसँग भेटघाट गर्न आफू इच्छुक रहेको उनले बताएकी छन्। उनले न्युयोर्कमा रहेका व्यक्तिहरूलाई समय मिले छोटो भेटघाटका लागि सम्पर्क गर्न आग्रहसमेत गरेकी छन्।