चितवन । चितवन जिल्ला तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म अति भारी वर्षा हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार २०८३ असोज ८ गते बेलुका ८ बजेदेखि असोज ९ गते बिहान ५ बजेसम्म उक्त सडकखण्डमा चल्ने सम्पूर्ण सवारी साधनको आवागमनमा रोक लगाइनेछ।
नेपाल मौसम विज्ञान विभागले चितवन तथा आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावनासम्बन्धी सूचना जारी गरेको र त्यसबाट बाढी, पहिरो, डुबानलगायत विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न आवागमन बन्द गर्ने निर्णय गरिएको हो।
सम्बन्धित निकायले यात्रु तथा सवारी चालकहरूलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान तथा सुरक्षा निकायबाट जारी हुने निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको छ।