काठमाडौं । क्वेस्ट फर्मास्युटिकल्स प्रालिले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षति र प्रभावित नागरिकको दैनिक जीवनमा परेको असरलाई मध्यनजर गर्दै उक्त सहयोग गरिएको क्वेस्टले जनाएको छ।
कम्पनीले हालै आएको बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, स्वयंसेवक तथा सहयोगी सबैप्रति कम्पनीले आभारसमेत व्यक्त गरेको छ।