काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरकारकी कर्मचारीहरू कुनै पनि दलविशेषको नहुने बताएका छन् ।
केही स्थानीय तहका पदाधिकारी र राजनीतिक दलहरूले आफ्नो अनुकुलको कर्मचारी पठाइदिन र प्रतिकुलका हटाइदिन आग्रह गर्दै तीव्र दबाब सृजना गरिरहेको भन्नुहुँदै उहाँले दबाबका भरमा कुनै पनि निर्णय नहुने स्पष्ट गरेका हुन ।
संविधान दिवस (असोज ३) का अवसरमा विभिन्न सञ्चारमाध्यमहरूमा आफ्नो धारणा व्यक्त गर्ने क्रममा उनले भनेका छन, ‘अहिले पनि देशभरका करिब एक सय जति पालिका निमित्तको भरमा चलिरहेको छ । निमित्त लिने र यही कर्मचारी चाहियो भनी केही ठाउँबाट दबाब छ । त्यो दबाब थेगिरहेको छु । कर्मचारी भनेको कुनै राजनीतिक दल विशेषको हुँदैनन् । जुन कर्मचारी मन्त्रालयले खटाउँछ, त्यसले इमान्दारिताका साथ काम गर्छ । दबाब थेग्न म तयार छु ।’
यस्तै, उनले कर्मचारी सरुवाका लागि महिनौँ काठमाडौं बस्न र धाउनपर्ने अवस्थाको अन्त्य गरिएको पनि बताएका छन् । ‘कर्मचारी सरुवाका लागि महिनौँ काठमाडौँ बस्न र धाउनुपर्ने अवस्था बन्द गरेका छौँ । पहिलादेखिको विकृति र बेथिति अन्त्यको प्रयत्न भइरहेको छ,’ मन्त्री गुप्ताले भने, ‘यसअघि धेरै कर्मचारी अतिरिक्त समूहमा रहने परिस्थिति थियो । त्यो क्रमशः अन्त्य हुँदैछ । खटाइएको ठाउँमा नजाने कर्मचारीको हाजिरी रोकिएको छ । त्यो हिसाबले देशभरकै पालिकालाई व्यवस्थित तुल्याएर सेवा प्रवाह चुस्त बनाउने सङ्कल्पका साथ काम गरिरहेका छौँ ।’
यस्तै, समन्वय समिति व्यवस्थित भइसकेको र पालिका व्यवस्थित हुन बाँकी रहेको भन्दै उनले त्यो पनि अब तुरुन्त गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैगरी, मन्त्री गुप्ताले सङ्घीय निजामती ऐन ल्याउने तयारीमा मन्त्रालय जुटिरहेको र त्यसको कार्यान्वयनसँगै स्थानीय तह र प्रदेशका कर्मचारीको अप्ठ्यारो सम्बोधन हुने बताएका छन् ।
यस्तै, कर्मचारीलाई नियतवश अपायक ठाउँमा खटाउने प्रवृत्तिको अन्त्यका लागि पनि मन्त्रालयले विशेष पहल गरिरहेको उनको भनाइ छ । अहिले पनि सात हजारको हाराहारीमा कर्मचारीहरू विभिन्न खाले अप्ठ्यारोमा परिरहेको चर्चा गर्दै उनले त्यसलाई जतिसक्दो चाँडो व्यवस्थित गर्ने खठोट व्यक्त गरेका छन् ।
कर्मचारीहरूको मनोबल उच्च बनाउन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर ‘अन्यथा केही नभएको खण्डमा’ कम्तीमा पनि एक वर्ष कार्यरत स्थानबाट सरूवा नगर्ने नीति लिएको उनले बताए । यसले कर्मचारीलाई निर्भीकताका साथ काम गर्ने वातावरण बनाएको उनको भनाइ छ ।
FACEBOOK COMMENTS