काठमाडौं । आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुने भएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेपछि आज आफैं जिल्ला अदालतमा हाजिर भएका लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा तोकिएको हो । अधिकारीकै इजलासमा लामिछानेको बयान र थुनछेक बहस हुने अदालत स्रोतले जनाएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते धरौटीमा रिहा भएका लामिछाने पुस २६ गते साँझ काठमाडौं आएका थिए ।
स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन अभियोगमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
लामिछानेविरूद्ध ५ करोड ८ लाख रूपैयाँ बिगो दाबी गर्दै सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ ।
लामिछानेविरूद्ध रूपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ । ती जिल्लामा पनि उनीविरूद्ध मुद्दा दर्ताको प्रकिया चलिरहेको छ ।
FACEBOOK COMMENTS