काठमाडौं । सञ्चालनमा आएको एक साता नबित्दै म्याग्दीस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याएको छ।
कालीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले आयोजनाको प्रसारणलाइनको टावर बगाउनुका साथै संरचनाको वालसमेत कटान गरेको हो।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको राहुघाट आयोजना यही सोजको पहिलो साता राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो। आयोजना सञ्चालनमा आएको केही दिनमै बाढीले प्रसारण संरचनामा क्षति पुर्याएपछि विद्युत् उत्पादन तथा प्रसारण प्रभावित भएको छ।
ऊर्जा मन्त्रालयका अनुसार आयोजनाको संरचना र प्रसारणलाइनको टावरमा भएको क्षतिको अवस्था मूल्यांकन गर्न प्राविधिक टोली परिचालन गरिएको छ। क्षतिग्रस्त संरचनाको पुनस्र्थापना तथा विद्युत् प्रणालीलाई पुन: सञ्चालनमा ल्याउन आवश्यक प्राविधिक काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।
यसैबीच, अविरल वर्षासँगै आएको बाढी, पहिरो, हावाहुरी र चट्याङका कारण देशका विभिन्न स्थानमा अन्य विद्युत् प्रसारण तथा वितरण संरचनामा पनि क्षति पुगेको छ। संरचना क्षतिग्रस्त हुँदा कतिपय क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने विभिन्न जलविद्युत् आयोजनाको उत्पादनसमेत प्रभावित भएको छ।

बाढीका कारण १४० मेगावाटको कालीगण्डकी, २५ मेगावाटको माथिल्लो मादी, ४४ मेगावाटको सुपर मादी, २० मेगावाटको नामार्जुन मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको अपर दोर्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, ७० मेगावाटको मध्यमस्र्याङ्दी र ६९ मेगावाटको मस्र्याङ्दीलगायत आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ।

कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा समेत क्षति पुगेको छ। कुश्मा–नयाँ बुटवल खण्डको प्रसारणलाइनमा ‘फल्ट’ आएपछि करिडोरमा जोडिएका करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

बाढीपहिरोका कारण २२० केभी, १३२ केभी, ३३ केभी र ११ केभीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ। क्षतिको प्रारम्भिक विवरण संकलन, विद्युत् आपूर्ति अवरुद्ध भएका क्षेत्रको पहिचान तथा वैकल्पिक माध्यमबाट आपूर्ति सञ्चालनका लागि प्राधिकरणका प्राविधिक तथा मर्मत टोली विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको बताइएको छ।
प्राधिकरणका अनुसार सम्भव भएका स्थानमा वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण र वितरण संरचनामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने व्यवस्था मिलाइएको छ। क्षतिग्रस्त संरचनाको मूल्यांकन गरी आवश्यक उपकरण, सामग्री र जनशक्ति परिचालन गरेर आपूर्ति क्रमश: पुनस्र्थापना गर्ने काम भइरहेको छ।
भारी वर्षा, बाढीपहिरो र सडक अवरुद्ध भएका कारण कतिपय प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले विपद्का बेला उपभोक्तालाई संयमित रहन आग्रह गर्दै क्षतिग्रस्त विद्युत् संरचना, ढलेका तार तथा पोलको नजिक नजान अनुरोध पनि गरेको छ।