काठमाडौं । चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब रूपैयाँ राजस्व असुलीको लक्ष्य राखेको सरकारले दुई पटक संशोधन गरेर १२ खर्ब ५३ अर्बमा झारेको छ ।
असार १८ सम्ममा ९ खर्ब ५२ अर्ब रूपैयाँमात्र राजस्व असुली भएकाले संशोधित लक्ष्य पुग्ने सम्भावना देखिँदैन । वर्ष सकिन १२ दिनमात्र बाँकी हुँदा राजस्व असुलीले लक्ष्य भेट्न नसक्ने देखिएको हो ।
गत चार वर्षका तथ्याङ्क हेर्दा असारका पछिल्ला १५ दिनमा एक खर्ब रूपैयाँ हाराहारीमा राजस्व असुली हुँदै आएको थियो । यही हिसाबअनुसार अबका १२ दिनमा एक खर्ब बढी राजस्व असुली भए पनि ११ खर्बभन्दा बढी राजस्व असुली हुन सक्ने देखिदैन ।
अर्थ मन्त्रालयका अनुसार आव २०७६–७७ मा असारको अन्तिम १५ दिनमा ९९ अर्ब रूपैयाँ राजस्व उठेको थियो । असार १५ सम्ममा ६ खर्ब ९४ अर्ब रूपैयाँ राजस्व सङ्कलन भएकोमा असार मसान्तसम्म पुग्दा ७ खर्ब ९३ अर्ब रूपैयाँ पुगेको थियो ।
यस्तै आव २०७७–७८ को असारका अन्तिम १५ दिनमा एक खर्ब ४ अर्ब रूपैयाँ राजस्व उठेको थियो भने आव २०७८–७९ मा ९७ अर्ब रूपैयाँ असुली भएको थियो । पछिल्ला चार वर्षमध्ये सबैभन्दा बढी आव २०७९–८० मा एक खर्ब १९ अर्ब रूपैयाँ राजस्व असुली भएको थियो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क हेर्दा असारका पछिल्ला १५ दिनमध्ये पनि २५ असारपछिका ५ दिनमा बढी राजस्व उठेको देखिन्छ । गत आवमा पछिल्ला ५ दिनमा एक खर्ब रूपैयाँ राजस्व उठेको थियो ।
गत चार वर्षका तथ्याङ्क हेर्दा असारका पछिल्ला १५ दिनमा एक खर्ब रूपैयाँ हाराहारीमा राजस्व असुली हुँदै आएको थियो । यही हिसाबअनुसार अबका १२ दिनमा एक खर्ब बढी राजस्व असुली भए पनि ११ खर्बभन्दा बढी राजस्व असुली हुन नसक्ने
सरकारले चालु वर्षको बजेट ल्याउँदा १४ खर्ब २२ अर्ब रूपैयाँ राजस्व असुली हुने अनुमान गरेको थियो । सरकारले वर्षका १२ महिनामध्ये पुस, चैत र असारमा सबैभन्दा बढी राजस्व सङ्कलनको लक्ष्य राखेको हुन्छ । तर, सबै महिनालाई औसतबाट हेर्दा यो वर्षको लक्ष्य पूरा गर्न प्रतिमहिना एक खर्ब १८ अर्ब ५० करोड रूपैयाँका दरले राजस्व असुली हुनुपर्छ । अहिलेको असुली अवस्था भने निराशाजनक छ । असार १५ सम्ममा प्रतिमहिना राजस्व असुली औषतमा ८२ अर्ब रूपैयाँमात्र छ । अर्कोतिर अर्थ मन्त्रालयले वार्षिक लक्ष्यलाई दुई पटक संशोधन गरेर १२ खर्ब ५३ अर्ब रूपैयाँमा झारेको छ । यो लक्ष्य पुग्न पनि प्रतिमहिना एक खर्ब ४ अर्ब रूपैयाँ सङ्कलन हुनुपर्छ ।
गत वर्ष असार १५ सम्ममा ८ खर्ब ३८ अर्ब रूपैयाँ राजस्व असुली भएकोमा यो वर्ष असार १५ मा आइपुग्दा ९ खर्ब ४३ अर्ब पुगेको छ । यो एक खर्ब ५ अर्ब रूपैयाँ धेरै हो । राजस्व असुली यो वर्षमात्र कमजोर बनेको होइन । आव २०७८–७९ मा १० खर्ब ६७ अर्ब रूपैयाँ राजस्व उठेकामा गत आव २०७९–८० मा ९ खर्ब ५७ अर्बमात्र असुली भएको थियो । यो अघिल्लो आवको तुलनामा एक खर्ब १० अर्ब रूपैयाँ कम हो । यसअघिका आवहरूमा पनि क्रमशः ९ खर्ब ३८ अर्ब र ७ खर्ब ९३ अर्ब रूपैयाँ राजस्व उठेको थियो ।
सरकारले राजस्व लक्ष्यअनुसार उठाउन नसकेपछि यसको सबै क्षेत्रमा प्रभाव परेको छ । अहिले राजस्व आम्दानीले चालु खर्च मात्र धानेको अवस्था छ । पुँजीगत बजेटका लागि सार्वजनिक ऋण लिनुपर्ने बाध्यता अहिले पनि हटेको छैन ।
FACEBOOK COMMENTS