काठमाडौं । राप्रपाका सांसदहरू दिपक बहादुर सिंहले आफ्नो पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पक्राउको कनेक्शन पोखरा विमानस्थलसँग जोडिएको बताएका छन् ।
पोखरा विमानस्थल निर्माणका क्रममा भएको १४ अर्ब रुपैयाँ भ्रष्टाचारबारे अनुसन्धान अघि बढेपछि आफ्नो अध्यक्षलाई सरकारले योजनबद्ध तरिकाले पक्राउ गरेको दाबी उनको छ ।
पोखरामा क्षेत्रीय विमानस्थल निर्माणका क्रममा ठूला दलका नेताहरूको मिलेमतोमा सो रकम भ्रष्टाचार भएको र त्यसबारे थप तथ्य राप्रपाले बाहिर ल्याउने त्रासका कारण राजेन्द्र लिङ्देनलाई पक्राउ गरिएको उनको भनाइ छ ।
‘यो भ्रष्ट सरकारले राजेन्द्र लिङ्देनलाई किन समात्नु पेको छ थाहा छ तपाइँहरूलाई ? पोखरा एयरपोर्टमा १४ अर्ब रुपैयाँ भ्रष्टाचार गरी खाएको कुरामा कारबाही गर भनेपछि राप्रपालाई निशाना बनाइयो,’ उनले भने ।
तर, राप्रपाका नेताहरू राष्ट्र र जनताका लागि जेल जानु त के ज्यान दिन पनि तयार रहेको उनले बताए । उनले सिंहदरबारबाट अध्यक्ष राजेन्द्र लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत पार्टीका भातृ सङ्गठनका नेताहरूलाई समातेर लगेको जानकारी दिए ।
पक्राउ परेका आफ्ना नेताहरूलाई तुरुन्त रिहा नगरे राष्ट्रवादीले त्यसको कडा जवाफ दिने चेतावनी सांसद सिंहको छ ।
FACEBOOK COMMENTS