काठमाडौं । नागरिकता कीर्ते गरेको अभियोगमा नेपालको प्रतिष्ठित कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट अनुमति लिएको समाचार बाहिरिएसँगै नेपालका चर्चित पत्रकार ऋषि धमलाले बिनातालमेलको अभिव्यक्ति दिँदै पक्राउ पुर्जीविरुद्ध ‘सञ्चार जगतले प्रतिवाद’ गर्ने धारणा व्यक्त गरेका छन् ।
आज मंगलबार आफू अध्यक्ष रहेको रिपोटर्स क्लबमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले समाचार लेखिएकै भरमा कसैलाई धरपकड गर्ने, पक्राउ गर्नेजस्ता विषय सह्य नहुने बताए । गलत गरेको भए कसैलाई बाँकी राख्न नहुने भन्दै पत्रकार धमलाले समाचार लेखेकै भरमा पूर्वाग्रही भएर कसैलाई पनि पक्राउ पुर्जी जारी गरिए सञ्चार जगतले त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
‘कसैलाई समाचार लेखेकै भरमा गिरफ्तार गरिन्छ भने हामी त्यसलाई मान्दैनौं, सह्य हुने छैन । मेरो पक्षमा समाचार लेखिएन भनेर गिरफ्तार गर्छन् भने हामी त्यसको विरुद्धमा उभिन तयार छौं,’ प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष समेत रहेका पत्रकार धमलाले भने । राज्य यसरी अगाडि बढेको खण्डमा सञ्चारकर्मीहरू शसक्त ढंगले संघर्षमा उत्रिने चेतावनी उनको छ ।
धमलाले नेपाली पत्रकारिता जगत पञ्चायत कालदेखि आजसम्म सुरक्षित नरहेको समेत स्मरण गराए । उनले नेताहरूले आफूमाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने र आलोचनालाई सहजरूपमा लिनुपर्ने बताए । साथै, सहकारी ठगी प्रकरणमा सरकार गम्भीर हुनुपर्ने र पीडितले बचत फिर्ता पाउनुपर्ने कुरा सुनिश्चित हुनुपर्ने उनले बताए ।
यद्यपि, पत्रकार धमलाले जुन विषयमाथि आक्रामक अभिव्यक्ति दिए त्यो विषय भने पत्रकार र समाचार लेखिएको विषयसँग सम्बन्धित थिएन । यदि उनले कैलाश सिरोहियामाथिको पक्राउ पुर्जीलाई लिएर यो अभिव्यक्ति दिएको भए उनले सिरोहिया पत्रकार नभइ केवल मिडिया मालिक मात्र भएको बुझ्नुपर्ने थियो । साथै, सिरोहियामाथिको पक्राउ पुर्जी समाचार लेखिएको कारण नभइ उनले नागरिकता कीर्ते गरेको अभियोगमा हो ।
सिरोहियाको नितान्त व्यक्तिगत कमजोरी वा चलाखीमाथि कानुनी कारबाही चलाउन खोज्दा उनले गृहमन्त्रीको रवैयामाथि प्रश्न उठाउनु सान्दर्भिक छैन र यही विषयमा सिरोहियालाई बचाउन पत्रकारहरू सडकमा ओर्लिन्छन् भन्ने विश्वास समेत गर्न सकिदैन ।
सहकारी ठगी प्रकरण र संसद् अवरोधको विषय पछिल्लो समय निकै पेचिलो बनिरहेको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने नै सहकारी ठगी प्रकरणमा संलग्न रहेको दाबी गर्दै नेपाली कांग्रेसले संसदीय छानविन समितिको माग राखेर संसद् अवरोध गरिरहेको छ । कांग्रेसको अवरोधका बावजुद सभामुखले सत्तापक्षको इसारामा पेलेर संसद्का काम कारबाहीलाई अगाडि बढाइरहेका छन् ।
त्यस्तै, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि पक्राउ पुर्जी जारी भएको विषयमा उपप्रधान एवम् गृहमन्त्री लामिछानेको थप आलोचना भइरहेको छ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी, कांग्रेसले के भन्यो ?
कान्तिपुरका कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी हुँदा कांग्रेस किन डरायो ?
FACEBOOK COMMENTS