जनकपुर – रोयल इनफिल्ड प्रेमीहरूको लागि एउटा विशेष उत्सवको रूपमा, हालै रोयल इनफिल्ड महा राइड सम्पन्न गरिएको छ । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभको आयोजनामा भएको सो एतिहासिक राइड, जनकपुरस्थित रोयल इनफिल्ड शोरुमबाट सुरु भएर सिन्धुलीसम्म पुगेको थियो ।
जनकपुरबाट सुरु भएको सो यात्रा बर्दिबासमा छोटो बिश्राम गर्दै थप राइडरहरूलाई समेट्ने गरी योजनाबद्ध गरिएको थियो । बर्दिबासस्थित रोयल इनफिल्ड शोरुममा थप १० जना राइडरहरू सहभागी भएपछि राइड अझ भव्य एंवम् बिशाल हुन पुग्यो । थप राइडरहरू सहभागी भएपछि राइड संख्या ६१ भएको थियो ।
कार्यक्रमको औपचारिक उद्धाटन प्रमुख अतिथि मधेश प्रदेश यातायात मन्त्रालयका सचिव रन्जित यादवले गरेका थिए । कार्यक्रमको फ्ल्याग अफ अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेल, नेसनल कार्ट हेड दिपेश श्रेष्ठ र नारायणी मोटर्सका निर्देशक अभिषेक गोयन्काद्वारा गरिएको थियो ।
सचिव रन्जित यादवले सडक सुरक्षाबारे महत्वपूर्ण विचारहरू प्रस्तुत गरेका थिए । यातायात मन्त्रालयका सचिव लगायत अन्य अतिथिहरूले सुरक्षित राइडिङ संस्कृति र यस्तो कार्यक्रमले दिने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए ।
रोड क्याप्टेन विमल श्रेष्ठको नेतृत्वमा सम्पूर्ण राइडरहरूले अनुशासित रूपमा यात्रालाई अगाडि बढाएका थिए । ऐतिहासिक जनकपुरधामको जानकी मन्दिरमा परिक्रमा गरी राइडरहरू धार्मिक आस्थासँगै सांस्कृतिक सम्पदाको प्रवर्धन पनि गर्न चाहन्थे ।
यस यात्राको मुख्य उद्देश्य आन्तरिक पर्यटन प्रवर्धनका साथै “घुमौ मधेश, बुझौँ मधेश’’ क्याम्पियनलाई सफल बनाउन सहयोग पु-याउने समेत रहेको थियो भने नेपालका सुन्दर गन्तव्यहरू चिनाउने अवसर समेत रहेको थियो ।
यस वाहेक अनुशासित सामूहिक राइडिङद्वारा सडक सुरक्षाको उदाहरण प्रस्तुत गर्नु, समान रुचि भएका व्यक्तिहरूलाई एकिकृत गराउने र भातृत्व बिकासको माध्यमबाट राइडर समुदाय बलियो बनाउने प्रयास समेत रहेको थियो ।
रोयल इनफिल्ड महा राइडले नेपालका मोटरसाइकल प्रेमीहरूलाई एकसूत्रमा बाँध्दै, सुरक्षित र रोमाञ्चक यात्राको उदाहरण प्रस्तुत गरेको कम्पनीको भनाइ छ । यस्तो कार्यक्रमहरूले देशका विभिन्न सुन्दर गन्तव्यहरूलाई पर्यटन केन्द्र बनाउने सम्भावना उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS