काठमाडौं । भारतीय ब्याडमिन्टन स्टार साइना नेहवाल आफ्ना पति तथा ब्याडमिन्टन खेलाडी पारुपल्ली कश्यपसँग अलग भएकी छन् । लामो समयदेखि प्रेममा रहेका उनीहरूले २०१८ मा विवाह गरेका थिए ।
नेहवालले सामाजिक सञ्जालमार्फत अलग भएको घोषणा गर्दै लेखेकी छन्, ‘धेरै सोचविचारपछि कश्यप र मैले अलग हुने निर्णय गरेका छौं । कहिलेकाहीँ जीवनले फरक बाटो रोजाउँछ । हामी एकअर्काको लागि शान्ति, वृद्धि र पुनर्प्राप्ति चाहन्छौं ।’
हरियाणाकी साइना नेहवाल ओलम्पिकमा पदक जित्ने पहिलो भारतीय ब्याडमिन्टन खेलाडी हुन् । उनले लन्डन ओलम्पिक–२०१२ मा कांस्य पदक जितेकी थिइन् । साइनाले २०१५ मा महिला एकलमा विश्व नम्बर–१ वरियतासमेत हासिल गरेकी थिइन् । उनले तीन ओलम्पिकमा भारतको प्रतिनिधित्व गरिसकेकी छन् भने राष्ट्रमण्डल खेलकुदमा दुई स्वर्ण पदक जितिसकेकी छन् ।
तेलंगानाका कश्यपले २०१४ को राष्ट्रमण्डल खेलकुदमा स्वर्ण पदक जितेका थिए । उनी ओलम्पिक क्वार्टरफाइनलमा पुग्ने पहिलो भारतीय पुरुष ब्याडमिन्टन खेलाडीसमेत हुन् ।
साइना र कश्यप २००५ देखि चिनजानमा थिए भने २००७ देखि प्रेम सम्बन्धमा थिए । प्रारम्भिक खेल जीवनमा दुवैले हैदराबादको पुलेला गोपीचन्द एकेडेमीमा प्रशिक्षण लिएका थिए ।
अलग भए पनि दुवैले एकअर्काको गोपनीयतालाई सम्मान गर्न सबैसँग आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS