एजेन्सी । साउदी अरेबियाका विदेश मन्त्री राजकुमार फैसल बिन फरहान शनिबार सिरियाको राजधानी डामास्कस पुगेका छन् ।
उनको नेतृत्वमा आएको उच्चस्तरीय आर्थिक प्रतिनिधिमण्डलले द्विपक्षीय आर्थिक सहकार्यका सम्भावनाहरूबारे छलफल गर्ने कार्यक्रम रहेको सिरियाली अधिकारीहरूले जनाएका छन् ।
गृहयुद्धबाट गम्भीर रूपमा प्रभावित सिरियाली अर्थतन्त्रलाई पुनःउत्थान गर्न साउदी अरेबियाले निरन्तर सहयोग र्पुयाउँदै आएको छ । सन् २०२४ डिसेम्बरमा करिब १४ वर्ष लामो द्वन्द्वपश्चात तत्कालीन राष्ट्रपति बशर अल असदको शासन अन्त्य भएपछि नयाँ नेतृत्वले देशको पुनर्निर्माणमा प्राथमिकता दिएको छ ।
यसै क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा रियाध भ्रमणका क्रममा सिरियामाथि लगाइएको अमेरिकी प्रतिबन्ध हटाउने घोषणा गर्नुभएको थियो, जसलाई सिरियाको आर्थिक पुनर्निर्माणको दिशामा एक सकारात्मक सङ्केतका रूपमा हेरिएको छ ।
मन्त्री फैसलको आगमनमा सिरियाका विदेश मन्त्री असद अल शैबानीले डामास्कस विमानस्थलमा स्वागत गर्नुभएको सिरियाली परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दुवै देशका विदेश मन्त्रीहरूबीच आज अपराह्न संयुक्त पत्रकार सम्मेलनको आयोजना हुने कार्यक्रम रहेको छ ।
साउदी अरेबियाको परराष्ट्र मन्त्रालयद्वारा प्रकाशित वक्तव्य अनुसार, मन्त्री फैसलले अन्तरिम राष्ट्रपति अहमद अल शरासँग शिष्टाचार भेट गर्नुहुनेछ । साथै, उच्चस्तरीय आर्थिक प्रतिनिधिमण्डलले सिरियाली अधिकारीहरूसँग आपसी सहयोगका माध्यमहरूबारे गहन छलफल गर्नेछ, जसले सिरियाको आर्थिक विकास र संस्थागत पुनर्निर्माणमा टेवा र्पुयाउने विश्वास गरिएको छ ।
FACEBOOK COMMENTS