काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार शेयरबजारमा १४.४८ अङ्कको गिरावट आएको छ ।
योसँगै आज नेप्से परिसूचक २ हजार ८७१ दशमलव ०५ विन्दुमा रोकिएको छ । आज कारोबारमा आएका २२५ ओटा धितोपत्रको १ करोड १ लाख ५ हजार ६६९ कित्ता शेयर ६९ हजार ७७० पटक कारोबार हुँदा ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको थियो । यस दिन नेप्से पसिूचक १०५.५५ अङ्कले बढेको थियो ।
आज लगानी, लघुवित्त र अन्य उपसमूहबाहेक सबै उपसूचकमा गिरावट आएको छ । यस दिन लगानी २.१८ प्रतिशत, लघुवित्त ०.५५ प्रतिशत र १.२८ प्रतिशतले बढेको छ ।
त्यस्तै बैंकिङ १.०५, विकास बैंक २.१३, वित्त १.६९, होटेल एण्ड टुरिजम ०.७२, जलविद्युत् ०.६७ प्रतिशतले गिरावट आएको छ । त्यसैगरी जीवन बीमा १.३३, उत्पादन तथा प्रशोधन ०.९६, म्युच्युअल फण्ड ०.७२, निर्जीवन बीमा १.३५ र व्यापार उपसमूहमा ०.४९ प्रतिशतले गिरावट आएको छ ।
आज प्रि–ओपन सेसनमा नेप्से परिसूचक १०.२४ अंकले बढेर २ हजार ८९५ दशमलव ७७ विन्दुमा पुगेको थियो ।
फरवार्ड र विन नेपालको कारोबारमा सकारात्मक सर्किट
आज फरवार्ड माइक्रोफाइनान्स कम्पनी र विन नेपाल लघुवित्तको शेर कारोबारमा सकारात्मक सर्किट लागेको छ । दुवै कम्पनीको शेयर १० प्रतिशतले बढेर आज क्रमशः प्रतिकित्ता २ हजार ३८७ रुपैयाँ र १ हजार ६१९ रुपैयाँ २० पैसामा अन्तिम करोबार भएको छ ।
त्यस्तै आज बुद्धभूमि हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा ९.९९ प्रतिशतले बृद्धि भएर प्रतिकित्ता ६१६ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै आज छ्याङ्दी हाइड्रोको शेयर ८.९७ प्रतिशत तथा एचआईडीसीएल र सीईडीबी हाइड्रोको शेयर ७÷७ प्रतिशतले बृद्धि भएको छ ।
FACEBOOK COMMENTS