काठमाडौं । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टी अवामी लिगले उनलाई सुनाइएको मृत्युदण्डको विरोधमा आज देशव्यापी बन्दको आह्वान गरेको छ । अवामी लिगले ढाकामा रहेको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) को निर्णयलाई पूर्ण रूपमा अस्वीकार गरेको छ ।
पार्टीले अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस र मन्त्रीहरूको तत्काल राजीनामाको माग गरेको छ । अवामी लिग नेता जहाँगीर कबीर नानकले पार्टीको फेसबुक पेजमा एउटा भिडिओ जारी गर्दै निर्णयलाई पक्षपाती र राजनीतिक प्रतिशोधको सङ्ज्ञा दिएका छन् ।
हसिनाविरुद्धको मुद्दा अगस्ट १४ मा सुरू भयो र नोभेम्बर १७ मा फैसला सुनाइएको थियो । अदालतले दुई महिनाको अवधिमा केवल २० दिनको सुनुवाइ गरेको थियो । मुद्धाको सुनुवाइको क्रममा ८४ साक्षीहरूमध्ये ५४ जनाको मात्र सुनुवाइ भयो र मुख्य न्यायाधीश एक महिना अनुपस्थित थिए, तैपनि फैसला सुनाइएको थियो ।
हसिनाको फैसलाको प्रतिक्रियामा देशभर हिंसा जारी छ । सरकारले उच्च सतर्कता घोषणा गरेको छ । ढाकामा १५ हजार प्रहरी तैनाथ गरिएको छ र हिंसात्मक प्रदर्शनकारीहरूमाथि गोली चलाउन आदेश दिइएको छ । फैसलापछि थप हिंसा हुने आशङ्कामा देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
FACEBOOK COMMENTS